नुवाकोट /
जिल्लामा पहिलोपटक “नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव” हुने भएको छ। साहित्य संगम नुवाकोटको आयोजनामा दुईदिने महोत्सव हुन लागेको हो।
देशभरका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागी हुने “नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव” आगामी पुष १४ र १५ गतेदेखि शुरु हुन लागेको हो।


महोत्सवबारेमा जानकारी दिन बिहिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष सुमित्रा सुमीले महोत्सवमा दुई दर्जनभन्दा बढी साहित्यकारले विभिन्न प्रस्तुति दिने जानकारी दिईन्।
महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल साँझ रहेको उनले जानकारी दिईन् ।दोस्रो दिन नुवाकोट जिल्लाका पर्यटकीय स्थलहरुमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण र कार्यपत्र प्रस्तुत गरिने छ।
साथै, महोत्सवमा नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।
महोत्सवले स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकता राखेको छ।
महोत्सवले लोक कला, संस्कृति, साहित्यको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। मोफसलका साहित्यकार र साहित्यकोस्तरलाई सवलिकरण, साहित्यको माध्यमबाट सामाजिक चेतना अभिबृद्धि र राज्यका निकायहरु र जनप्रतिनिधिहरुलाई साहित्यप्रति ध्यानाकर्षण गरी जिम्मेवार बनाउने महोत्सवको उद्देश्य रहेको छ।
महोत्सव संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश साझेदारी रहेको महोत्सवमा विदुर नगरपालिकाको कार्यालय र विदुर नपा वडा नम्बर ४ को कार्यालयको आर्थिक सहयोग रहेको जनाएको छ।
