नुवाकोट/
जिल्लामा पहिलोपटक शंखध्वनी प्रतियोगिता हुने भएको छ। मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले नुवाकोटबाट सञ्चालित नुवाकोट एफएमले शंखध्वनी प्रतियोगिताको आयोजना गरेको छ।
आगामी मसिर ६ गते हरिवोधनी एकादशीका दिन बिदुर नगरपालिका वडा नम्वर ५ स्थित जालपादेवी मन्दिर परिसरमा प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा ६० जना भन्दा बढिले भाग लिनका लागि सम्पर्क गरेको नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले जानकारी दिनुभएको छ।
सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ रसुवा, नुवाकोट र धादिगमामै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको स्टेशन म्यानेजर अधिकारीले जानकारी दिनुभएको छ।
शंख नेपालमा मात्र नभई भारत, श्रीलंका बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद दश हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई तिन हजार एक सय रुपैयाँ र दुई जनालाई सान्त्वना स्वरुप जनही एक सय रुपैयाँ तथा सम्पूर्ण सहभागीलाई प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।पशुपति क्षेत्र विकास कोषका शंखको विषयमा जानकार व्यक्ति र शंखको विषयमा पिएचडी गर्न लागेका व्यक्ति निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ। विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ।
शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा आयोजकले जनाएको छ। ‘कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर समाज रुपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मुलमन्त्रलाई आत्मासाथ गरी संस्थाले उक्त प्रतियोगिता गर्न लागेको बताईएको छ।