नुवाकोट /
आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई सार्वजनिक रुपमा टिकट वितरण गरेको छ। पार्टी कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर चितवनमा २ का लागि रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ १ का लागि स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो ।
उक्त अवसरमा बोल्दै पार्टी सभापति रवि लामिछानेले रमेश खरेल र स्वर्णिम वाग्लेजस्ता व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा अटाउनु गौरवको कुरा भएको बताए।


उनले भने– ‘यो देशमा अरु पनि कैयौँ रमेश खरेल र स्वर्णिम वाग्लेहरु छन् जसले यो देशमा बसेर सेवा गर्न पाएका छैनन्। उहाँहरुले आफ्नो अभिव्यक्तिमा भन्नुभएको छ, स्वंयसेवको रुपमा भएपनि कुनै पैसा नलिई काम गर्छु भन्दा पनि बञ्चित गराएको तितो अनुभव उहाँहरुले सुनाउनुभएको छ। यस्ता विज्ञ, अनुभवी र क्षमता प्रमाणित भइसकेका व्यक्तिहरुले चित्त दुखाउनु, मनमनै आँशु झार्नु भनेको यो माटोको लागि शुभसंकेत हैन। यसकारण ती आँशुहरु भुँइमा नझरुन भन्नका लागि हामीले यो पार्टी बनाएका हौँ ।उहाँहरु जस्ता धर्तीपूत्रलाई यस पार्टीमा स्वागत गर्न पाउँदा गौरवान्वित भएका छौँ।’
