नुवाकोट /
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको नयाँ अधिवेशन नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाको अध्यक्षतामा शुरु हुने भएको छ।

प्रदेशसभामा निर्वाचित सांसदमध्ये उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ रहेका ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको दोस्रो कार्यकालको नयाँ अधिवेशन शुरु हुने भएको हो। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था छ।

सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित ढुंगानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

उनी १२ हजार ११० मत ल्याएर विजयी भएका थिए। उनले नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेलाई ४४८ मतान्तरले पराजित गरेका थिए। निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी​ प्रदेशसभामा ७२ वर्षका ज्येष्ठ सदस्य हुन्।

उनको जन्म विसं २००६ साल असोज २ गते भएको थियो। प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले शपथ गराउनेछन्। उनले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आगामी अधिवेशनको शुरुवात गर्नेछन्। शपथ ग्रहणको मिति भने टुंगो लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय