नुवाकोट /
जिल्लामा निर्वाचन आयोगले खर्च विवरण पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बुझाउन थालेका छन्। ६३ उम्मेदवार रहेको नुवाकोटमा ४२ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा २८ र दुई वटा प्रदेशसभामा ३५ गरी ६३ उम्मेदवार रहेका थिए।

चुनावी खर्च विवरण बुझाएको तथ्यांक अनुसार नुवाकोटका उम्मेदवारहरुले एक करोड ७५ लाख ४४ हजार ८२५ रुपैयाँ खर्चेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए ।

चुनावी खर्च विवरण नबुझाउनेमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ समेत रहेको उल्लेख छ ।उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १९ लाख ७३ हजार ३०० खर्चेको भन्दै विवरण बुझाएका छन्। यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले चुनावमा २७ लाख ६३ हजार खर्चेको भन्दै विवरण बुझाएका छन्। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका नारायणप्रसाद खतिवडाले केसीभन्दा आधा चुनावी खर्च गरेको विवरण पेश गरेको छ ।खतिवडाले १३ लाख ३५ हजार ६४९ खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

निर्वाचन मत परिणाम घोषणा हुनुभन्दा अगावै मङ्सिर ६ गते नुवाकोट क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवारद्वय नेपाली काँग्रेसका बहादुरसिं लामा र स्वतन्त्र उम्मेदवार सिहंराज लामाले आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए ।

नुवाकोट जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको थियो । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो। प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाख रुपैयाँसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय