नुवाकोट /
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमतसंग्रह जस्तै भएको बताएका छन् ।शनिबार चितवनमा गठबन्धनले आयोजना गरेको चुनावीसभामा बोल्दै अध्यक्ष दाहालले जनमतसंग्रह जस्तै भएको बताएका हुन् ।
अध्यक्ष दाहालले भनेका छन्, ‘चितवनवासी जनसमुदायलाई म अपील गर्न चाहन्छु, हामीले इतिहासको यो अवसरलाई विल्कुल गुम्न दिनु हुँदैन। यो निर्वाचन वास्तवमा विकास, समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने हो या अराजकता, निरंकुशता, सामन्तीतन्त्रतिर लैजाने भन्ने जनमतसंग्रहजस्तो हुँदैछ ।’


यस अगाडि अध्यक्ष दाहालले देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘जसरी १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रदर्शन हामीले र्गयौं, त्यसैगरी आउने मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन् ।स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ ।’
यसका साथै गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन बनेको हो ।यो गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको छ ।’
उनले थप भनेका छन्, ‘मुख्यतः स्थानीय तह निर्वाचन गठबन्धनको तर्फबाट सम्पन्न गरियो ।७५३ वटा स्थानीय तहको सरकार ५ वर्षका लागि बनेका छन् ।प्रतिगमनको खतरा कम बन्दै गएको छ, अग्रगमन विजयी बन्दै गएको छ ।’
