काठमाडौ /
सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।घटना आइतबारको हो । सोह्र श्राद्धको अन्तिम दिन माझी समुदायमा पितृ तार्ने पर्व नै मनाउने प्रचलन छ ।जसअन्तर्गत दुई दिनअघि पितृहरूलाई ९नदी० घाटमा गएर बोलाउने गर्छन् ।

यसरी बोलाउँदा परिवारको कुनै एक सदस्यको शरीरमा पितृ पस्ने (काम छुट्ने) विश्वास उनीहरूमा छ ।शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्छ, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमै घाट (नदी)मा लगेर विधिपूर्वक पितृ विसर्जन गर्ने चलन छ ।नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाडे पितृ खुसी भएको विश्वास गरिन्छ ।यससँगै उनीहरूको सोह्र श्राद्ध सकिन्छ ।

तर, यसपटक भने विगत वर्षजस्तो भएन। बगाउँदासमेत काम्ने व्यक्तिलाई ‘पितृले छाडेन’ ।यसरी काम्न नछोड्नुुमा दोष बिबी माझीको भएको निष्कर्ष समुदायका केही व्यक्तिले निकाले। सबैजना काम्दै बिबी र उनकी आमा सुनमाया माझी बसेको घरमा पुुगे। चामलको अक्षताले आँखामा हान्दै बिबीलाई अनुहार तथा टाउकोमा मुड्कीले कुटपिट गर्न थाले । उनी मरणासन्न भइन । त्यही समयमा एउटा बिरालो बिबीको घरमा आइपुुग्यो। माझी युवायुवतीले बिरालो समाते र त्यहीँ काटेर आगोमा पोलिदिए ।निर्घात कुटपिट गरिएकी बिबीको त्यतिवेलासम्म मृत्यु भइसकेको थियो । उल्टै उनीहरूले बिबीलाई कथित ‘बोक्सी’ करार गरे ।र, बिबीको शरीरबाट बिरालो उत्रिएकाले त्यसलाई काटेपछि उनी पनि मरेको निष्कर्ष निकाले ।

छोरीको हत्यापछि त्यही समूहले आमा सुनमायालाई पनि घरबाट निकालेर कुटपिट गर्न थाले ।अचेत अवस्थामा पुगेकी उनको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए ।उपचारमा संलग्न चिकित्सक डा। केशव धामीले वृद्धाको अवस्थामा केही सुधार आएको बताए। ‘सोमबार बिहानसम्म वृद्धाको अवस्था चिन्ताजनक थियो ।अहिले ९साँझ० स्वास्थ्य खतरामुक्त देखिएको छ,’ उनले भने, ‘उहाँ डिप्रेसनमा देखिएकाले हामीले त्यहीअनुसार उपचार गरेका छौँ । केही दिन चिकित्सककै निगरानीमा राख्नुपर्छ ।’

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात महिलासहित २३ जनालाई पक्राउ गरेको छ । स्थानीयले खबर गरेपछि घटनाबारे जानकारी पाएको प्रहरीले १८ जनालाई आइतबार घटनास्थलबाटै र थप पाँचजनालाई सोमबार पक्राउ गरेको हो । सबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय