नुवाकोट /
नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रेमिटेन्स पठाए। विदेशमा कार्यरत नेपालीहरुले गत आर्थिक वर्ष २०७८\७९ मा मात्रै नौ खर्ब ८६ अर्ब रुपैयाँ पठाएका छन्। यो रकम १४ वर्षयताकै उच्च हो। यसरी हेर्दा रोजगारीको खोजीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले कुल ग्रार्हस्थ्य उत्पादनको २५ प्रतिशत धानेको छ।

सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा रोजगारीका लागि विदेशिनु पर्ने अवस्था छ। युवाले विदेशी भूमिमा पसिना बगाएको पैसा देशको अर्थतन्त्र धानेको छ। सरकारले युवा बेचेर रेमिट्यान्स भित्र्याएको जानकारहरु बताउँछन्।

१४ वर्षमा झण्डै ११ हजारले गुमाए ज्यान

रोजीरोटीका लागि विदेशिएका धेरै नेपाली युवाले विदेशी भूमिमा मृत्युवरण गरेका छन्। ठूला सपना बोकेर विदेशिएका नेपाली काठको बाकसमा फर्किरहेका छन्। रेमिट्यान्सको यो पाटो हेर्दा निकै सुखद् देखिन्छ। वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित नहुँदा कतिपयले विदेशी भूमिमा ज्यान गुमाउनु परेको अवस्था छ। नेपालमा रेमिट्यान्ससँगै ठूलो संख्यामा शव आउने गरेको सरकारको तथ्यांक छ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या बर्सेनी बढेको छ। रोजगारीको खोजीमा १४ वर्षमा ५० लाख ८३३ युवा विदेशिएका छन्। त्यसमध्ये १० हजार ९३२ नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०६५/६६ मा ७८ जनाले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षमा एक हजार ४७९ जनाले ज्यान गुमाएका छन्। त्यस्तैगरी अगंभग भएर फर्किनेको संख्या पनि कम छैन। १४ वर्षको अवधिमा दुई हजार १२५ जना अंगभंग भएर फर्किएको अवस्था छ। अवैध प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने तथा अंगभंग भएर फर्किनेको संख्या अझ ठूलो छ। यस्ता श्रमिकको तथ्यांक बोर्डले समेटेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय