ए लोभका पोकाहरु
ए लालचीका भण्डारहरु
आर्जित धन साथै लान मिल्छ र ?
किन मरिहत्ते गरि दौडिन्छौ हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

गाउँ छोडेर शहर पस्ने होडबाजी एकातिर
महल बनाउने होडबाजी अर्कोतिर
मानव निर्मित भौतिक संरचना क्षणिक न हो
किन मरिहत्ते गर्छौं हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

सुन-चाँदी, हिरा-मोति,जग्गा-जमिन
यहीँ थिए यहीँ रहनेछन्
अस्ति एउटाको हिजो तिम्रो भोलि अर्कैको हुनेछ
किन मरिहत्ते गर्छौं हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

धन बटुल्ने लालचले
साथी छोड्यौ नाता तोड्यौ गन्तव्य मोड्यौ
रुपैयाँ पैसा कागजी खोस्टो न हो आज छ भोलि छैन
किन मरिहत्ते गर्छौ हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

स्वार्थै स्वार्थले दुश्मनी कमायौ धेरै
आफ्नालाई पराया परायालाई आफ्ना बनायौ धेरै
अरुको काँध बिना त चित्ता सम्म पनि पुग्दैनौ
ए मान्छे किन मरिहत्ते गर्छौ हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

प्राणीलाई पाप गर्यौ मानवलाई शोषण गर्यौ
प्रकृतिको दोहन गर्यौ ,क्षणिक आराम बाहेक के पायौ ?
दुईमिटर टालो तीन अंगालो दाउरा स्वाहा
ए मान्छे!
किन मरिहत्ते गर्छौं हँ ?
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।
पर्ख यार म पनि त्यही घाट सम्म जाने हो।

रामचन्द्र तिम्सिना(आवाज)
म्यागङ ५ सामरी, नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय