कविता – “बा”हरु !

साहित्य र मनोरञ्जन

पहिले पहिले अहिलेका जस्तो “बा” हुँदैन थे
काका”बा” साना”बा” मितबा र ठुला”बा” हुन्थे
आत्मिय हुन्थे मिजासिला हुन्थे
आजभोली “बा”हरुको पनि वंशज वृद्धि भएछ
त्यसैले त टाढाबाठाहरु सबैसबै “बा” भएर जन्मिएछ।

मजेत्रो जोड्ने “बा”हरु भन्दा
मिनिस्कट खोल्ने “बा”हरु ह्वात्तै बढेका छन्
नुन बोक्ने “बा”हरु भन्दा
सुन बोक्ने “बा”हरु ह्वात्तै बढेका छन्
हो आजभोली “बा”हरु छ्यासछ्यास्ती भेटिन्छन्
जस्तो कि
छोरी बेचुवा “बा”
बलत्कारी “बा”
गुण्डा “बा”
तस्कर “बा”
ठेकेदार “बा”
नेता “बा”
सबैसबै “बा” ।

जबसम्म छोराछोरीहरुले चाकडी जारी राख्नेछन
तबसम्म “बा”हरु जन्मिरहनेछन
भ्रम रोपेर सत्ता फलाउने “बा”हरु
श्रम कुल्चेर सत्ता टिकाउने “बा”हरु ।

मैले “बा”हरुलाई “बा” मान्न छोडेको बर्शौं भयो
किन थाहा छ ?
“बा”हरुको भाषणले कहिल्यै मेरो चुल्हो बलेन
खाडीको पाइला रोकिएन
घुस बिनाको काम पाइएन ।
त्यसैले मैले आजभोलिका “बा”हरुलाई “बा” भन्नै छोडिदिए।
“बा” भन्नै छोडिदिए ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी ,नुवाकोट

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *