काठमाडौं /
रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको नेपाल आयल निगमले जनाएको छ ।
बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए ।
‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्यौं,’ भट्टराईले भने, ‘नयाँ मूल्य नबढाए र आईओसीलाई इन्धनको पैसा तिर्न निगम एक्लैले नसक्ने अवस्था बन्यो ।’
१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको भट्टराईको भनाइ छ ।