काठमाडौ /
बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ।स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेका मध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ ।
उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् ।सो संस्थाद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ ।
यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।सरकारले तोकेको कानुन विपरीत बालश्रम गरीरहेका बालबालिकाले ठूलो जोखिम र भारी उठाउनु परेको, कामको पूरा पारश्रमिक नपाएको, राति–राति काम गर्नुपर्ने र अभद्र व्यवहार खेप्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।