काठमाण्डौँ /
बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका करिब तीन सय जनामाथि पक्राउ पूर्जी जारी गरिएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसरी गरेको आरोपमा करिब तीन सय जनामाथि पक्राउ पूर्जी जारी गरेको हो ।
व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले सरकारी जग्गा हिनामिना गरेको आरोपमा तीन सय भन्दा बढीमाथि पक्राउ पूर्जी जारी गरेको पुष्टि गरे ।उनले घटनाका विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए ।
पक्राउ पूर्जी जारी हुनेहरुमा नेपाली कांग्रेसका नेता एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात सहितका ‘हाइप्रोफाइल’ व्यक्तिहरु समेत रहेका छन् ।
सिआईबीले ‘हाइप्रोफाइल’का व्यक्तिहरुलाई पक्राउ नगरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।‘हाइप्रोफाइलका व्यक्तिहरुलाई पनि पक्राउ पूर्जी जारी गरेका छौं ।तर, उहाँहरुलाई पक्राउ नगरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरेका छौं,’ स्रोतले भन्यो ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी यसअघि नै पक्राउ परिसकेका छन् ।उनीहरु अहिले थुनामा रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् । काठमाण्डौँ पार्टीबाट साभार