कोदोसंग चामल साट्दै गाउँपालिका

समाचार

अछाम/
जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियान अन्तर्गत २२ क्विन्टल कोदो संकलन भएको छ। वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा पाँच सय ९३ किलाे र महिला सहकारी भवन चौखुट्टेमा १६ सय चार किलाे गरी करिब २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिएका छन् ।

२६ मंसिरदेखि कोदो संकलन अभियान सुरू भएकाे हाे ।गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उदेश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहाेस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेकाे उनले जानकारी दिए । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भना छ ।फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएकाे अध्यक्ष साउदले बताए ।

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेकाे अध्यक्ष साउदले जानकारी दिए ।अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महंगाेमा किनेर खान थालेका छन् ।यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेकाे अध्यक्ष साउदले बताए ।आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताए ।

भात खान पाँच घण्टा हिंडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताएका छन् ।कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महंगाेमा किनेर खान थालेका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *