
काठमाडौं/
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको नाम फेर्ने प्रस्ताव ल्याउन लागेको खुलेको छ ।लामो समयदेखि माओवाद हटाउने तयारीमा लागेका प्रचण्डले यसै महाधिवेशनमा त्यो प्रस्ताव ल्याउन लागेका हुन् ।
काठमाडौंमा आइतबारबाट सुरू भएको आठौं महाधिवेशनबाट पार्टीको नामबाट ‘माओवाद’ हटाउने उनको तयारी रहेको बुझिएको छ ।सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्ववत अवास्थामा फर्काएपछि प्रचण्डले विभिन्न चरणमा माओवादी पार्टीको नाम परिवर्तन गर्ने परामर्श थालेका थिए ।
माओवादीकै एक नेताले बताए अनुसार प्रचण्डले नयाँ र सबैले मन पराउने नामका बारेमा आफूनिकट नेताहरूसँग छलफल थालिसकेका छन् ।प्रचण्डले अबको गन्तब्य समाजवादतर्फ भएकाले ‘समाजवादी’ नाम बढी सुहाउने नेताहरूलाई सुनाउने गरेका छन्। ‘नाम फेर्ने अध्यक्षको प्रस्तावमाथि पनि छलफल हुँदैछ,’ ति नेताले भने, ‘नयाँ नाम महाधिवेशनले अनुमोदन गर्छ ।
नाममा माओवादी भन्दा समाजवादी शब्द प्रयोग गर्ने विकल्पमा हामी कुराकानी गरिरहेका छौं ।’ माओवादीमा पार्टीको नामबाट माओवाद हटाउन निकै पहिलेदेखि छलफल चलिरहेको थियो । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा पनि नामबारे छलफल भएको थियो ।