काठमाडौ/
नेपालमा पहुँचवाला अर्थात् टाठाबाठाहरुले कोरोना विरुद्धको बुस्टर डोज खोप धमाधम लगाएको पाइएको छ ।जबकी पुर्ण खोप ६१ प्रतिशत नेपालीको पहुँच भन्दा बाहिर छ।
पछिल्लो समय बुस्टर डोजको बारे चर्चा भइरहँदा पहुँच हुनेहरूले धमाधम बुस्टर डोज खोप लगाइरहेका छन् ।तर, कोरोनाविरुद्धको खोप अभियान चलिरहँदा सरकारले बुस्टर डोज दिने निर्णय भने गरिसकेको छैन ।
सरकारी अस्पतालका एक अधिकारीले भने अस्पतालका अधिकांश स्वास्थ्यकर्मीले बुस्टर मात्रा लगाएका छन् ।ती अधिकारीले भने, ‘गत माघमा सबै फ्रन्टलाइनरलाई खोप दिँदा मैले पनि लगाएको हो ।पछिल्लो समय जाँच गर्दा एन्टीबडी शरीरमा कम भएको पाए । अस्पतालमा कोभिडका बिरामीको उपचारमा संलग्न हुनुपर्छ त्यसैले थप मात्रा लगाए ।’
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक उच्च अधिकारीले पनि ठुला अस्पतालका स्वास्थ्यकर्मीले समेत विभिन्न बहाना बनाएर बुस्टर डोज लगाएको पाइएको बताए ।‘कसैले दोस्रो मात्रा खोप नलगाएको भन्दै बुस्टर डोज लगाएका छन् ।‘पहुँचवालाले मात्रै बुस्टर डोज नलगाएर दुवै मात्रा कोरोनाविरुद्धको खोप लगाएका सर्वसाधारणले समेत खोप केन्द्रका अधिकारीलाई छल्दै पुनः अर्को मात्रा लगाएको भन्दै यस विषयमा गम्भीर हुनुपर्छ ।’
अध्ययनहरूले बुस्टर डोजको आवश्यकता रहेको बताए पनि स्वास्थ्य मन्त्रालयको अनुमति बिना बुस्टर डोज लगाइनु र लगाउने कार्यलाई सरकारले रोक्नु पर्ने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले कुल जनसङ्ख्याको ५० प्रतिशतले खोप नलगाएसम्म बुस्टर डोज लगाइन नपाइने जनाएको छ ।यद्यपि नेपालको कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना मध्ये हालसम्म ३९.२ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । यस्तै ३१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै, कोरोनाविरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या अर्थात् १८ वर्षभन्दा माथिका करोड ९९ लाख २२ हजार १६४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जसमा कम्तीमा एक मात्रा ५९.८ प्रतिशतले कम्तीमा एक लगाएका छन् भने ४७.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । अब नेपालमा खोप लगाउने लक्षित ५० प्रतिशत करिब पुग्न २ प्रतिशत मात्रै बाँकी रहेकाले चाँडै दुवै मात्रा खोप लगाएकाले बुस्टर डोज पाउने अवस्था सृजना भएको खोप विज्ञ सल्लाहकार बताउँछन् ।