
नुवाकोट।
कात्तिकमा आएको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्तापित भएका छन् ।मन्त्रालयका अनुसार बुधबार बिहान सम्ममा ३१ जनाको मृत्यु, १७ जना घाइते र ४३ जना बेपत्ता भैसकेका छन्।
प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा मंगलबार राती चौविसै गाउँपालिका-१ गढिरेमा पहिरोले घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। पहिरोले घर पुरिँदा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीयाकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय संजीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मनसुन बाहिरिनु अगाडि यस वर्ष मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्।
हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। बुधबार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।