सुनौली।
भारतको जालन्धरमा रोजगारी गर्ने झापाका धनबहादुर विष्ट ५८ हजार भारु लिएर घर फर्कने क्रममा लुटिए। मोबाइल र लत्ताकपडा भएको झोलासमेत लुटेराले लगे। परिवारसँग दसैं मनाउन कोसेली बोकेर आउँदै गरेका उनलाई पानीमा नसालु पदार्थ ख्वाएका रहेछन्। चितवन भरतपुरका २२ वर्षीय लक्ष्मण गिरी भारतको हमिरपुरस्थित पेट्रोलपम्पमा काम गर्थे। दसैं नजिकिएपछि ६० हजार भारु लिएर घरको यात्रामा निस्किए। उनलाई चियामा नसालु पदार्थ खुवाएर उक्त रकम लुटेराले लगे।

म्याग्दीको बेनी नगरपालिका–१० का कृष्ण परियार दिल्लीबाट आउने क्रममा लुटिए।उनी २५ हजार भारु, २ वटा मोबाइल र लत्ताकपडा सहितको झोला लिएर घर आउँदै थिए। प्रहरीका अनुसार लुटपाटका अधिकांश घटना भारतको गोरखपुरदेखि लिएर सुनौली नाकाको बीच हुने गरेको छ। रुपन्देहीका डीएसपी एवं प्रवक्ता सत्यनारायण थापाले चाडपर्वको बेला भारतमा नेपालीलाई लुटपाट गर्ने गिरोह भारतीयभन्दा बढी नेपाली मूलका नै रहेको बताए। बाटोमा कुराकानी गर्दै विश्वासमा पार्ने, त्यसपछि कुनै वस्तुमा नसालु पदार्थ ख्वाएर लुटपाट गर्ने गरेको पाइएको डीएसपी थापाको भनाइ छ। यात्राका क्रममा कुनै अपरिचित व्यक्तिले खानेकुरा दिए नखान प्रहरीले आह्वान गर्दै आएको छ। तर, झट्ट गरिने विश्वासका कारण लुटपाट÷अपराध हुने गरेको छ। बेखर्ची अवस्थामा प्रहरी कार्यालयमा आएका पीडितलाई उनीहरूको गन्तव्यसम्म पुर्‍याउने वा आफन्तको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख नवीन पौडेलले बताए।

चाडपर्वले भीडभाड बढेको नाकामा प्रहरीले यात्रुका सहयोग गर्ने यात्रु सहायता कक्ष (हेल्प डेस्क) राखेको छ। भारतबाट फर्किएका नेपालीले यातायात, होटल, खानालगायतका सम्बन्धमा जानकारी लिने गरेको प्रहरीले जनाएको छ।अन्नपूर्ण पोस्टबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x