
नुवाकोट।
निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।
स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।त्यसभन्दा तीन महिना अघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन ।
त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ समेत माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो ।
आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ ।यस्तै आयोगले अब नयाँ कानुन अनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ ।
आयोगले त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको जनाएको छ ।