चिनियाँलाई नेपाली नागरिकता बेचेको आरोपमा जिल्ला प्रशासन कार्यालय, धादिङका नायब सुब्बा कृष्णप्रसाद थपलिया पक्राउ परेका छन् ।यसअघि पक्राउ परेकाको बयानका आधारमा धादिङ प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
उनको नागरिकतामा अधिकृत छत्र अधिकारीले हस्ताक्षर गरेका छन् ।चीनको तिब्बत घर भएका सोनाम तामाङले चार लाख खर्च गरेर जिल्ला प्रशासन, धादिङबाट नागरिकता लिएको खुलेपछि कर्मचारी पनि छानबिनमा तानिएका हुन्। जिल्ला प्रशासनका कर्मचारीलाई ५० हजार रुपैयाँ घुस दिएर सम्बन्धित व्यक्तिसमेत उपस्थित नभई नागरिकता लिएको खुलेको छ।
प्रहरीले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो।