नुवाकोट /
सरकारले सामाजिक सुरक्षा भत्ता लिन आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ देखि परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर आगामी माघ १ देखि लागु गर्न लागिएको हो।
विभागले निर्णय कार्यान्वयनका लागि नुवाकोट र धादिङसहित ६६ जिल्लाका सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रूजु गर्नुपर्ने जनाएको छ। परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाहरूले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रूजु गर्नुपर्नेछ। नं नभएमा भने सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि तस्बिर खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नं हराएको स्वघोषणा गर्नुपर्छ। विभागका अनुसार स्थानीय अधिकारीलाई झुक्याएर परिचयपत्र नं भएर पनि छैन भनी दोहोरो सुविधा लिन सक्ने सम्भावना भएकाले स्वघोषणालाई अनिवार्य गरिएको हो।
विभागका महानिर्देशक युवराज कट्टेलका अनुसार सुरूमा साउनदेखि अनिवार्य लागु गर्न खोजिएको पहिलो चरणमा २८ र दोस्रो चरणमा माघदेखि लागु गर्न खोजिएको ३८ जिल्लाका स्थानीय तहलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको छ। मन्त्रिपरिषद्ले गत जेठ २४ मा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि साउन १ देखि अनिवार्य गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय परिचयपत्र बनाउन अत्यन्त कम समय दिएको भन्दै सरकारको उक्त निर्णयको चर्को आलोचना भएपछि सरकारले गत जेठ २७ मा प तत्काल अनिवार्य नगर्ने निर्णय गरेको थियो। तत्काल रोकिए पनि अनिवार्य गर्दै लैजाने कानुनी व्यवस्था भएकाले पुस मसान्तसम्मको म्याद दिएर पत्राचार गरिएको महानिर्देशक कट्टेलले बताए।
विभागका अनुसार एक करोड ५१ लाख ७९ हजार पाँच सय १५ जनाको परिचयपत्र विवरण सङ्कलन भइसकेको छ। सतहत्तर जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र केही स्थानीय तहबाट नियमित विवरण सङ्कलन भइरहेको छ। ४७ लाखभन्दा बढी परिचयपत्र वितरण भइसकेको जनाइएको छ। विभागका अनुसार आगामी पुसअघि सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने वा नयाँ दर्ता गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नलिएको वा त्यसको नं नपाएको स्वघोषणा सम्बन्धित व्यक्ति आफैंले गर्नुपर्नेछ।
विभागले परिचयपत्र प्राप्त गरिसकेकाका हकमा भने बायोमेट्रिक रूजु गर्ने क्रममा कुनै समस्या भएमा पुस मसान्तभित्र उपलब्ध गराउने गरी भत्ता कार्ड नवीकरण गर्न सकिने जनाएको छ। सामाजिक सुरक्षा भत्ता लिन सम्बन्धित स्थानीय तहमा भदौ मसान्तभित्र कार्ड नवीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। परिचयपत्रबिना नै नवीकरण गरेकाहरूले पुस मसान्तभित्र अनिवार्य रूपमा परिचयपत्र वा त्यसको नं प्राप्त गरी सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा बायोमेट्रिक रूजु गराउनुपर्नेछ।
गत असार १० मा नै राजपत्रमा सूचना प्रकाशन गरेर सो प्रणाली लागु गर्दै जाने सरकारले निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित सूचनानुसार तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा परिचयपत्र लागु गर्ने भनिएको छ। नुवाकोट र धादिङ दोस्रो चरण तथा रसुवा तेस्रो चरणमा परेका छन्।
परिचयपत्रको सफ्टवेयर खरिद र छपाइ, कर्मचारी परिचालन, यन्त्र खरिदलगायत काममा झन्डै रु पाँच अर्ब खर्च भइसकेको छ। परिचयपत्रका नाममा बर्सेनि ठुलो रकम खर्च भए पनि लागु गर्न नसकेका अवस्थामा अहिले राजपत्रमा सूचना नै प्रकाशन गरेर अनिवार्य गर्न खोजिएको विभागले जनाएको छ।