
नुवाकोट/
जिल्लाको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ। चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो।
आमाको हातबाट फुत्किएर ६ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो। उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो।
खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो। लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ।