नुवाकोट /
मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार २८ जेठमा मनसुन भित्रिएयता क्षेत्रगत रूपमा (कतै वर्षा कतै सुक्खा) वर्षा भइरहेकामा न्यूनचापीय रेखा नेपालनजिक सर्न थालेको हो ।
‘मनसुनको न्यूनचापीय रेखा दिल्लीभन्दा दक्षिणततिर छ, अब नेपालनजिक (बिहार) आसपास आउने देखिन्छ, यो अवस्थामा नेपालभर वर्षा हुन जान्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘त्यही भएर १६ असारसम्म देशभर वर्षा हुने भनेका हौँ । केही ठाउँमा भीषण तथा लुम्बिनी र गण्डकी प्रदेशको सीमा क्षेत्रमा धेरै भीषण वर्षा हुन सक्छ ।’


२८ जेठमा पूर्वीनेपालमा मनसुन भित्रिए पनि १५ दिनमा अर्थात् १० असारमा मात्र देशभर मनसुन पुगेको थियो । मंगलबार र बुधबार देशका धेरैजसो क्षेत्रमा वर्षा भए पनि झरी भने पर्न सकेको थिएन ।
मौसमविद् मानन्धरका अनुसार अब मनसुन बिस्तारै सक्रिय हुने भएकाले झरीको सम्भावना पनि छ। महाशाखाले आगामी दिनमा साना, ठूला नदी र खोलामा पानीको सतह बढ्ने र बाढीपहिरोको जोखिम रहेको बताएको छ।
कहाँ–कहाँ छ भीषण वर्षाको सम्भावना ?
सातवटै प्रदेशका विभिन्न ठाउँमा भीषण वर्षाको चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै गण्डकी प्रदेशका केही स्थान, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। त्यस्तै, मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित भीषण वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनीको सीमा क्षेत्रमा अति भीषण वर्षा हुन सक्ने महाशाखाले लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षा हुन सक्ने बताएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार गण्डकी र लुम्बिनीको सीमा क्षेत्रका केही जिल्लामा अति भीषण वर्षा हुन सक्छ।
कोशी, गण्डकी र लुम्बिनी जोखिमको ‘रेडजोनमा’ मौसम पूर्वानुमान महाशाखाले कोशीको पूर्वी क्षेत्र तथा गण्डकी र लुम्बिनीमा बाढीपहिरोसहितका विपत्का घटनाका हिसाबले ‘रेडजोन’मा राखेको छ । महाशाखाले कोशीको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभा क्षेत्रमा बाढीपहिरोको जोखिम भनेको हो। ‘कोशीमा सुरुदेखि नै मनसुन सक्रिय छ, बाढीपहिरो पनि गइरहेकै छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘खोलानालामा पानी भरिएको छ, माटो गलेको छ, अहिले फेरि वर्षा हुँदा बाढीपहिरो जान सक्ने भएकाले सतर्क रहन भनेका हौँ।’
कोशी प्रदेशमा त २८ जेठयता मात्र बाढीपहिरो र चट्याङमा परी २५ जनाले ज्यान गुमाइसकेका छन् ।ताप्लेजुङमा मात्र पाँचजनाको मृत्यु भइसकेको छ, २५ घरपरिवार विस्थापित भएका छन्। महाशाखाले लुम्बिनी, रुन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासीलाई आगामी तीन दिनका लागि रेडजोनमा राखेको छ। त्यस्तै, गण्डकीको स्याङ्जा, तनहुँ, लमजुङ, कास्कीलगायत क्षेत्रमा पनि पहिरोको जोखिम छ। कास्की र लमजुङमा बुधबार मात्र पहिरोमा परी सातजनाले ज्यान गुमाएका थिए।
