नुवाकोट /
एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ। एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ। प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो। एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो। अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन्।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ।

नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ। यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ। यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ।

यी सम्पूर्ण तथ्याङ्क र परिस्थितिले के देखाउँछ भने, बुधबार हुने एसिया कपको उद्घाटन खेलमा पाकिस्तानका लागि नेपाल निकै कमजोर प्रतिद्वन्द्वी हो। कम्तिमा पनि इतिहासले यही भन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय