धादिङकी १६ वर्षिय नाबालिकलाई भारतमा बेच्ने ७ जना पक्राउ

ताजा समाचार समाचार

नुवाकोट /
मानव बेचविखन गर्ने एक गिरोह पुर्पक्षका लागि कारागार चलान भएको छ। धादिङकी १६ वर्षीया नाबालिकालाई भारत पुर्‍याई बेचविखन गरेको आरोपमा जिल्ला अदालत धादिङले सातजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

मानव बेचविखनमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ६ की ३२ वर्षीया कविता बानियाँ आचार्य, सोलुखुम्बु नेचासल्यान गाउँपालिका २ की ३५ वर्षकी कमला नेपाली, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ की ३६ वर्षकी गीता न्यौपाने, कल्पना आले मगर, ४४ वर्षका रूपेन्द्र अधिकारी, २१ वर्षकी अस्मिता नेपाली र त्रिपुरासुन्दरी १ का कोपिला दमै संलग्न भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला अदालतको आदेशले मंगलबार पुर्पक्षका लागि धादिङ कारागारमा पठाएको प्रहरीले जनाएको छ।

गत मंसिर १५ गतेबाट धादिङकी १६ वर्षकी नाबालिका हराइरहेकी थिइन्। उनको खोजीको क्रममा उनीहरूले बालिकालाई भारतको दिल्लीस्थित पहाडगञ्जमा पुर्‍याएको पाइएको धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

प्रतिवादीहरूले पूजा गर्दा प्रशस्त पैसा आफैं झर्छ भनी पैसाको प्रलोभनमा पारी बालिकाको शरीरको उचाइ, तौल नापी शरीरमा कुनै किसिमको दाग नरहेको फोटो, भिडियोसमेत सामाजिक सञ्जालबाट तस्करहरूलाई पठाएका थिए।

बालिकाका अभिभावकलाई समेत थाहै नदिई उनीहरुले बालिकालाई भारतीय मानव तस्करीसँगको मिलेमतोमा धादिङ मलेखुबाट रूपन्देहीको सुनौली नाका हुँदै भारतको पहाडगञ्ज पुर्‍याएको डिएसपी जैसवारले बताए।

पीडित बालिकालाई बालिकालाई विभिन्न संघ संस्था तथा किङ इन्डियासँग नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो, बबरमहल, काठमाण्डौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट उद्दार गरिएको थियो।

घटनामा संलग्नलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराध कसूुमा गत माघ १५ गते म्याद थप गरी ६० दिन हिरातसमा राखी प्रहरीले अनुसन्धान सकाएको थियो। उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले चैत १६ गते मुद्दा दायर गरेको थियो।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *