नुवाकोट /
जिल्ला सहकारी संघ नुवाकोट तथा विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानमा सहभागी भई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।

विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लि.को रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अवसरमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सहकारीकर्मी श्रेष्ठको योगदान कदर गर्दै दोसल्ला ओढाई सम्मान गरेका हुन्।

यसैगरी नियमित बचत गरेबापत सहकारीका शेयरसदस्य सुमन श्रेष्ठलाई उत्कृष्ट बचतकर्ता र कर्मचारी अनिता सिलवाललाई उत्कृष्ट कार्यबापत सम्मान गरिएको सहकारीका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।सम्मानित द्वयले नगद दुईहजार पाँचसय रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, आईएमई इन्स्योरेन्स नुवाकोट शाखाका प्रमुख सिताराम रिमाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारीका अध्यक्ष अमित गजुरेलले वार्षिक प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरेका छन् ।यस्तै, सहकारीका कोषाध्यक्ष वसन्त रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्।

वार्षिक प्रतिवेदनअनुसार सहकारीको ५९ लाख ८१ हजार २०० रुपैंयाँ शेयरपूँजी, ३२ लाख ११ हजार २१ रुपैंयाँ ऋण लगानी रहेको छ। सहकारीले आव २०७८/७९ मा एकलाख सात हजार ७०८ रुपैंयाँ नाफा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय