नुवाकोट/
जिल्लाको १२ वटा स्थानीय तहले चालू आव २०७८/७९ को ६ महिना अर्थात् पुस मसान्तसम्म लक्ष्य अनुसारको खर्च गर्न सकेका छैनन् ।जस अन्तर्गत १२ पालिकामध्यमा चालू आवको ६ महिनामा म्यागङ गाउँपालिकाले कुल बजेटको ३८.६३ प्रतिशत खर्च गर्दै शिर्ष स्थानमा रहेको हो।

त्यस्तै किस्पाङ गाउँपालिकाले १५.६६ प्रतिशत खर्च गर्दै अन्तिममा रहेकोे छ। १२ मध्ये चालू आवको यो अवधिमा सबैभन्दा बढी खर्च गर्नेमा म्यागङ र कम खर्च गर्नेमा किस्पाङ गाउँपालिका छ ।

जिल्लाको दुईवटा नगरपालिका र १० वटा गाउँपालिकाको स्वीकृत कुल बजेट सात अर्ब ३७ करोड १२ लाख ३५ हजार ९०२ रुपैयाँमा पुस मसान्तसम्म एक अर्ब ९३ करोड ४१ लाख ९५ हजार ८१८ खर्च भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय नवाकोटका अनुसार १२ पालिकाले स्वीकृत बजेटमध्ये २६.२४० प्रतिशत खर्च गरेका छन् ।

चालू आवमा सबैभन्दा बढी विदुर नगरपालिकाले नगर परिषदबाट बनाएको वार्षिक स्वीकृत बजेटमध्ये २५.२ प्रतिशत चालू आवको ६ महिनामा खर्च गरेको छ । यो अवधिमा कम्तीमा ४० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य बनाएको थियो । विदुरले एक अर्ब ३९ करोड ६७ लाख पाँच हजार दुई सयको स्वीकृत वार्षिक बजेटमध्ये ३५ करोड १९ लाख ८५ हजार ११५ मात्र चालू आवको छ महिनामा खर्च गर्न सकेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङ्क अनुसार ककनी गाउँपालिकाको ५८ करोड ५४ लाख ८३ हजार ४२६ स्वीकृत बजेटमध्ये १८ करोड ६९ लाख २२ हजार ३०६ यो अवधिमा खर्च गरेको छ । ककनीको खर्च प्रतिशत ३१.९२ रहेको छ ।

बेलकोटगढी नगरपालिकाले स्वीकृत बजेट एक अर्ब १५ करोड ९३ लाख ५२ हजारमध्ये ३२ करोड १७ लाख ६४ हजार ७९० चालू आवको ६ महिनामा खर्च गरेको छ । बेलकोटको खर्च अनपात २७.७५ प्रतिशत रहेको छ ।

त्यस्तैगरी किस्पाङ गाउँपालिकाको कल स्वीकृत बजेट ४४ करोड ९३ लाख १४ हजारमध्ये ६ महिनामा सात करोड ३८ लाख दुई हजार २५७ खर्च गरेको छ । यो अवधिको खर्च प्रतिशत किस्पाङको १५.६६ रहेको छ ।

१२ वटा पालिकामध्ये सबैभन्दा कम खर्च गर्ने पालिकामा किस्पाङले रेकर्ड राखेको छ। तादी गाउँपालिकाको कुल स्वीकृत बजेट ४४ करोड तीन लाख ६८ हजार ५३९ मध्ये नौ करोड ९३ लाख १७ हजार ८८७ यो अवधिमा खर्च भएको छ ।कुल बजेटको २२.५५ प्रतिशत तादी गाउँपालिकाले यो अवधिमा खर्च गर्न सफल भएको छ ।

तारकेश्वर गाउँपालिकाको स्वीकृत बजेट ३८ करोड ८१ लाख बजेटमध्ये १० करोड १८ लाख ६ हजार ८० खर्च भएको छ ।तारकेश्वर गाउँपालिकाको यो अवधिको खर्चको प्रतिशत २६.२३ प्रतिशत रहेको छ ।

त्यसैगरी, दुप्चेश्वर गाउँपालिकाले स्वीकृत बजेट ६० करोड तीन लाख ७२ हजार ४४८ मध्ये यो अवधिमा १३ करोड २८ लाख ५८ हजार ९४९ खर्च भएको छ ।दुप्चेश्वरले कुल बजेटको २२.१२ प्रतिशत खर्च गर्न सफल भएको छ ।

पञ्चकन्या गाउँपालिकाको स्वीकृत बजेट ४८ करोड ६२ लाख ६२ हजार ४८० मध्ये यो अवधिमा १३ करोड ४० लाख तीन हजार १८३ खर्च भएको छ ।पञ्चकन्याले कुल बजेटको २७.५५ प्रतिशत खर्च यो अवधिमा गरेको छ ।

त्यसैगरी, म्यागङ गाउँपालिकाले स्वीकृत बजेट ४४ करोड ९१ लाख २७ हजार एक सय एकमध्ये चालू आवको यो अवधिमा १७ करोड ४० लाख ३६ हजार ९५६ खर्च हुन सकेको छ ।म्यागङ गाउँपालिकाको खर्च कुल बजेटको ३८.६३ प्रतिशत रहेको छ ।

नुवाकोटको लिखु गाउँपालिकाले स्वीकृत बजेट ४७ करोड २६ लाख ९३ हजारमध्ये यो अवधिमा १० करोड ८६ लाख ९० हजार दुई सय खर्च भएको छ ।खर्चको प्रतिशत लिखुको २३.१३ रहेको छ ।

त्यसैगरी, शिवपुरी गाउँपालिकाले स्वीकृत बजेट ५६ करोड ६२ लाख ९४ हजारमध्ये १५ करोड ५३ लाख ८२ हजार ४८० खर्च गरेको छ ।खर्चको प्रतिशत शिवपुरीको यो अवधिमा २७.४३ प्रतिशत रहेको छ ।

त्यसैगरी, यो अवधिमा सुर्यगढी गाउँपालिकाले स्वीकृत बजेट ३७ करोड ७१ लाख ७३ हजार ७०७ मध्ये नौ करोड ७० लाख ६८ हजार ६१२ खर्च गरेको छ ।सुर्यगढीले यो अवधिमा कुल बजेटको २५.७२ प्रतिशत खर्च गर्न सफल भएको छ ।

पालिकाले समानीकरण, ससर्त अनदान चालू, ससर्त अनुदान पँुजीगत, विशेष अनुदान पुँजीगत, समपूरक अनुदान, पुँजीगत शीर्षकमा सङ्घीय सरकारबाट बजेट प्राप्त गर्छन् ।त्यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू, ससर्त अनुदान पुँजीगत, विशेष अनुदान चालू, विशेष अनुदान पुँजीगत, समपूरक अनुदान चालू, समपूरक अनुदान पुँजीगत शीर्षकमा बजेट पालिकाले पाउँछन् ।पालिकाले राजस्व बाँडफाँड प्रदेश सरकार, राजस्व बाँडफाँड सङ्घीय सरकार, आन्तरिक स्रोत, स्थानीय तह ससर्त अनुदान चालू, जनसहभागिता आन्तरिक स्रोतको बजेट खर्च गर्छन् ।पालिकाले २० वटा शीर्षकमा प्राप्त बजेटको आधारमा बजेट निर्माण गर्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय