रुकुम।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले एकजना वडाअध्यक्ष सहित पाँचजनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का वडाअध्यक्ष दीपक केसीसहित पाँचजनालाई बिहीबार राती ११ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनीहरुलाई मुसिकोट नगरपालिका-१ मठबाट पक्राउ गरिएको हो।
जिप्रकाका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष, घरधनी उत्तम खड्का, कमल बूढा, राजाराम वली र युगल पुन छन्।
प्रहरी टोलीले जुवा खालबाट ३२ थान कौडा, १ थान गलैँचा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ रकम बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए
यसअघि उनै केसीसहितले २०७७ जेठ २० गते मुसिकोट नगरपालिका-१४ छिवाङज्युलस्थित अस्थायी प्रहरी पोष्ट तोडफोड र प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए
मुसिकोट नगरपालिका– १३ का वडाध्यक्ष केसीको नेतृत्वमा आएको टोलीले प्रहरी चौकीमा तोडफोड गरेको थियो।
मोटरसाइकलमा आएका वडाध्यक्षले जाँचका लागि सडकमा राखिएको बार हटाउन ढिला गरेको भन्दै प्रहरीसँग झगडा गरेका थिए।
झगडाकै बीचमा स्थानीय २०-२५ जना युवाले प्रहरी पोस्टमा तोडफोड गरेका थिए। एक वर्षअघि उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरी पनि पक्राउ परेका थिए।