डिबि तामाङ, रोमानिया।
मञ्जुश्री संवत् २८६२ औं (ता-ल्हो) अर्थात घोडा वर्गको सोनाम ल्होछारको अवसरमा माघ महीनाभर तामाङ समुदायका विभिन्न संघ संस्थाहरुले विश्वव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ। यसै सन्दर्भमा रोमानिया घेदुङले पनि जनवरी २५ तारिख बुखारेष्टको डाईमन इभेन्ट्स-२ सभा हलमा भब्य रुपमा ल्होछार मनाउन लागेको हो।
“प्रवासमा भाषा, धर्म, कला, संस्कृतिको संरक्षण नेपाल तामाङ घेदुङ रोमानियाको अभियान भन्ने मूल नारालाई आत्मसात गर्दै” सन् २०२३ मा स्थापना भएको संस्थाले विगतका वर्षहरुमा झैँ विधिवत् रूपमा लामा धर्म गुरुहरुद्वारा बिहान १० बजेदेखि पूजापाठ साङसेर्गेम गरीसके पश्चात् औपचारिक रुपमा हर्ष उल्लासमय पारिवारिक मैत्रीपूर्ण वातावरणमा ल्होछार कार्यक्रम आयोजना गर्न लागिरहेको हुँदा रोमानियामा कर्मथलो बनाई रहेका सम्पूर्ण नेपालीहरु लाई उपस्थितिको लागि कार्यक्रमका संयोजक तथा संस्थाका अध्यक्ष फुर्साङ लामाले निमन्त्रणा गरेका छन्।


धर्म गुरु मिग्मार लामा ड्रक्पो रेपाको प्रमुख आतिथ्यमा हुन गैइरहेको कार्यक्रम उद्घोषकद्वय, सुरेन्द्र लामा र सुनिता लामाले सञ्चालन गरिने तय गरिएको छ भने थप मनोरञ्जन दिलाउन स्थानीय चर्चित कलाकारहरूको गायन र नृत्य दुबै विधामा बेजोड प्रस्तुति रहने महासचिव सम्झना लामाले बताईन्।
नेपाली पात्रो अनुसार भने यो वर्षको सोनाम ल्होछार राष्ट्रिय पर्व माघ ५ गते सोमबार पर्दछ। गत वर्ष भन्दा ल्होछार हेर्ने दर्शक बृहत् सहभागिता रहने आकलन गर्दै हलको पर्याप्त व्यवस्थापन गरिएको छ।




