काठमाडौ /
आज बुधबार हेटौंडामा सुरु भएको दलित महिला संघ (FEDO) को बागमती प्रदेश स्तरीय सम्मेलनलाई बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सम्बोधन गर्दै भनेका छन्- रूपान्तरण आदेश र उपदेशबाट हुँदैन।

“नेपाली समाज वर्ण र बर्ग घालमेल भएको समाज हो। एउटै सिक्काको दुई पाटोको रूपमा रहेको वर्ण (जात) र बर्गको समस्यालाई उतिकै महत्त्व दिएर समाधान गर्दै लैजानुपर्छ ।”

“दलित समस्या आदिकालदेखि थियो र अनन्तकालसम्म रहन्छ। यो मानव निर्मितभन्दा पनि भगवान सिर्जित (प्राकृतिक) समस्या हो। आदिकालदेखि चल्दै आएको धर्म,परम्परा, संस्कृतिलाई भत्काउनु हुन्न, त्यसको सम्बर्द्धन गर्नुपर्छ” भन्नेहरू दलित बिरोधी प्रतिगामी सोंच राख्नेहरू हुन् ।

यस्ता सोच बोक्नेहरूबिरुद्ध दलितहरू एकजुट भएर लड्नुपर्ने मन्त्री श्रेष्ठले बताएका छन् ।त्यस्तै, दलितमाथि विभेद र उत्पीडन त छ, तर यो आजको आजै हट्दैन; बिस्तारै हटाउँदै जानुपर्छ। मिलेर बसेको समाजको सामाजिक सद्भाव खलबलिन दिनुहुन्न भन्ने यथास्थितिवादी सोंच पनि खतरनाक रहेको कुरा मन्त्री श्रेष्ठले बताएका छन् ।

मन्त्री श्रेष्ठको प्रश्न थियो- “बिस्तारै भनेको कहिलेसम्म हो ?२०२० सालमा मुलुकी ऐन संशोधन गरेर जातको आधारमा छुवाछूत गर्न नपाइने कुरा राजा महेन्द्रले घोषणा गरेको पनि त ६० बर्ष नाघिलाग्यो।मिलेर बसेको समाज भनेको के हो ? दलितहरू सधैं दलित नै भैरहुन अनि उनीहरूमाथि सधैं छुवाछूत र भेदभाव गरिरहन पाउनुपर्छ भनेको हो ? यस्तो समाज मिलेर बसेको हो कि जबर्जस्ती `मिलाएर´ राखिएको हो ?

मन्त्री श्रेष्ठले धर्म परिवर्तन गरेर होइन, भौतिकवादी बनेर मात्रै दलितको मुक्ति हुने कुरा बताएका छन् ।साथै उनले अन्तरजातीय प्रेम बिबाहलाई प्रोत्साहन गर्नुपर्ने, जात लुकाएर थर मात्रै लेख्ने चलनको ठाउँमा सिधै जात लेख्दा राम्रो हुने सुझाव पनि दिएका छन्।
मन्त्री श्रेष्ठले रूपान्तरण आदेश र उपदेशबाट समेत बताएका छन्।

आफैंबाट सुरु गर्नुपर्छ भन्दै दलित-दलितबीचमा रहेको चर्को छुवाछूत र भेदभाव अन्त्य नगरेसम्म दलित मुक्ति संभव नहुने कुरा बताएका छन्।

उनले पहाडी र मधेसी दलितले भोग्दै आएको समस्या धेरै समान भए पनि पहाडी र मधेसी दलित समुदायबीच अन्तर्घुलन र एकता हुननसकेकाले दलित आन्दोलन कमजोर हुन पुगेको कुरा पनि बताएका छन् ।

पहाडी र मधेसी दलित समुदायबीच आपसी अन्तर्घुलन र एकता बढाउन मन्त्री श्रेष्ठले सुझाव दिएका छन्।
उनले बागमती प्रदेश सरकारले ल्याउन लागेको नीति कार्यक्रम र बजेटले दलितको समस्या धेरै नै समाधान गर्ने कुरा पनि बताए।

सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गरेका थिए भने दलित महिला संघका संस्थापक दुर्गा सोवलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए। सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाट झन्डै ५०० दलित महिलाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय