तिम्रै हो झैँ लाग्छ
उ …त्यो बादलको अनौठो आकृति पनि
आँखै अघि छ गुलाबको सुवास
तिमीले आधा तानेका चुरोटका ठुटा
छातीमा टाँसेर चुपचाप बसेको
पुरानो टेबल माथिको मौन स्ट्रे देखेपछि
कसले भन्छ-
तिमी मेरो समीप छैनौ ?
तिमी त म सँगै छौ, म भित्रै छौ ।
जिउँदा प्रमाण छन् म सँग
पत्यार लागेन ?
यी… हेर तिमी स्वयम्
परेली ओभाउन दिएका छैनन् तिम्रा यादहरुले
तिमी आँखामा छौ र त चुहिन्छ प्रेम


थाहा छ, युग-युग
एक अर्कालाई हेराहेर गरेर पनि बाँच्न सकिन्छ
मिलन कहाँ भएको छ र ?
नदीका दुई किनाराको ?
हैन र परिपूरक एक अर्काका ?
अनुभूतिहरूले दुखी हुने छुट छैन मलाई
मिलन पछिको बिछोडमा पनि
नितान्त फरक कुरा हुन्
सँगै हुनु/सँगै नहुनु ,
सफल हुनु/सफल नहुनु
तर यति नै जीवन हैन
तर यति नै प्रेम हैन
यसर्थ बहुत गर्वसाथ भन्छु
म एक सफल प्रेमी !-
हरपल नाँचिरहन्छ यी आँखामा तिम्रै तस्बिर
सपनामा होस् या बिपना
निन्द्रा होस् या तन्द्रा
यस्तो लाग्छ-
तिमी नै मेरो पहिलो स्पर्श !
तिमी नै मेरो पहिलो प्रेम !
सूर्यको प्रभाती किरणले गर्छ जब स्पर्श
शुभसन्ध्या भन्दै हात हल्लाए झैँ लाग्छ
गोधूलि नाप्दै गरेको रातो सूर्यको मौन दृष्टि
शुभप्रभात भन्दै उभिएझैं लाग्छ
कहाँनेर भेटिन्छ असफलताको सुराग ?
तिम्रो अभाव हुन दिएको छैन हामी बसेको चौतारीले
हामीले कुँदेको देउरालीले
म गईरहन्छु र, भेटिरहन्छु उसैगरी
मेरा साथी जस्तै बनेका छन् उनीहरू
ठुस्किन्छन् भेट नहुँदा मसित
रैवारे बतास पठाउँछन्
र, बोलाई रहन्छन् बेला- बेला
यस्तो लाग्छ-
मलाई बोलाउने चौतारी होइन, तिमी हौ
मलाई जिस्क्याउने देउराली होइन, तिमी हौ
हामी सँगै छौं,अलग भएर पनि
म भित्रै छौ तिमी, फरक भएर पनि
यही होइन र –
साँचो प्रेमको गाथा ?
सफल प्रेमको सार ?
ए टुक्रिएका मुटुहरू सुन !
म त संसारको सफल प्रेमी !
रोमा लम्साल (नुरा)
हाल काठमाडौं
