नुवाकोट /
समाजसेवी डा. भीमलाल तामाङको नेतृत्वमा सञ्चालित संस्था गुड फ्रेन्ड्स अफ नेपाल (GFN) ले भोटेकोशी बाढीपीडित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाले बाढीपश्चात प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरण गर्दै आएको उल्लेख गर्दै, राष्ट्रिय विपत्तिको घडीमा राज्यको पुनर्निर्माण प्रयासलाई थप सशक्त बनाउन आफ्नो तर्फबाट सहयोगस्वरूप उक्त रकम कोषमा जम्मा गरिएको हो।


डा. तामाङले असोज १२ गते हिमालयन बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरिएको जानकारी दिएका छन्। साथै, उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनाका लागि राज्यलाई थप सहयोग आवश्यक रहेको भन्दै सबैलाई आफ्नो क्षमताअनुसार योगदान दिन आग्रह गरेका छन्।
GFN ले तत्कालीन राहत वितरणसँगै दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
