नुवाकोट /
नेपाली अर्थतन्त्र सबैभन्दा धेरै चलायमान बन्ने समयका रूपमा दसैँ र तिहारलाई लिइन्छ ।प्रत्येक वर्ष चलायमान बन्ने कूल अर्थतन्त्रको २० प्रतिशत कारोबार दसैंमा मात्रै खर्च हुने गरेको छ। विश्व बैंकले गरेको पछिल्लो सर्वेक्षण अनुसार पनि सन् २०२१ मा एउटा नेपाली परिवारले वर्षमा औसत ३ लाख ८० हजार रुपैयाँ खर्च गर्ने गर्छन् ।जसको २० प्रतिशत खर्च दसैंको समयमा मात्रै खर्च हुने गरेको विश्व बैंकको तथ्यांक छ ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. रमेश पौडेल दसैंको समयमा वर्षभरी हुने कूल खर्चको २० प्रतिशत रकम खर्च हुने बताउँछन्। विश्व बैंकको पछिल्लो तथ्यांकले पनि यस्तै आँकलन देखाउने उनको भनाइ छ ।दसैंको समयमा नेपालीहरूले माछामासु, लत्ताकपडा, भ्रमण र खानपिनमा बढी खर्च गर्ने गरेका छन् ।यसैगरी, सर्वसाधारणले दसैंको समयमा खाद्यान्नमा समेत ठूलो रकम खर्च गर्ने गरेका छन् ।
लत्ताकपडामा साढे २ अर्ब खर्च
नेपालमा वर्षमा ६ अर्ब ५० करोड रुपैयाँ हाराहारीको लत्ताकपडा खपत हुने गरेको नेपाल स्थानीय गार्मेन्ट उत्पादक संघको तथ्यांक छ। जसको ४० प्रतिशत खपत दसैं र तिहारमा हुने गरेको छ । यो भनेको २ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको लत्ताकपडाको कारोबार दसैंमा हुने गरेको संघको भनाइ छ ।यसैगरी, वार्षिक ५ देखि ६ करोड जोर जुत्ताको माग नेपाली बजारमा देखिन्छ ।जसमध्ये दसैंको समयमा मात्रै २ करोड जोर जुत्ताचप्पल बिक्ने गरेको फूटवेयर म्यानूफ्याक्चर्स एसोसिएशन अफ नेपालले जनाएको छ ।
घर जाँदा ६ अर्ब खर्च
दसैंको समयमा रोजगारी, उद्यम व्यवसाय र अध्ययनका लागि घरपरिवारभन्दा टाढा रहेका सर्वसाधारण घर फर्कने गर्छन् । सोही प्रचलन अनुसार उच्च शिक्षा अध्ययन र रोजगारीका लागि काठमाडौं पसेकामध्ये २२ लाख मानिस घर फर्कने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमानित तथ्यांक छ । तर, यी सबै मानिस सार्वजनिक यातायातमार्फत भने घर फर्कँदैनन् ।
‘दसैंको समयमा यात्रा गर्नेमध्ये केही प्रतिशत आफ्नै सवारी साधनमा जान्छन्, एउटा मानिस दसैंमा घर जाँदा सरदरमा २ हजार रुपैयाँ खर्च हुने गरेको देखिन्छ,’ महासंघका अध्यक्ष विजयबहादुर सुवाँरले भने ।
सार्वजनिक यातायातमा टिकट काटेर वा आफ्नै साधनमा घर जाँदा पनि सरदर २ हजार रुपैयाँ खर्च हुने उनले बताए । महासंघका अनुसार नेपालको सबैभन्दा लामो दूरीमा यात्रा गर्दा ४ हजार रुपैयाँसम्म र छोटो दूरीमा १ हजारदेखि १५ सय रुपैयाँसम्म खर्च हुन्छ । यसलाई मिलाउँदा सरदर २ हजार हुन आउँछ ।
सार्वजनिक यातायातको भाडा, बाटोमा खाना र खाजा खर्च र आफ्नै गाडीमा गएमा पेट्रोल÷डिजेल र खाना÷खाजा खर्च हुन्छ । जसले दसैंमा यातायात क्षेत्र पनि चलायमान बन्छ। प्रतिव्यक्ति २ हजार रुपैयाँ सरदर खर्च राख्दा दसैंमा हुने २२ लाख मानिसको यात्राबाट ४ अर्ब ४० करोड रुपैयाँ खर्च हुन आउँछ। यस्तै, ती मानिस पुनः शहर फर्कँदा समेत सोही बराबरको रकम खर्च हुन आउने व्यवसायीको भनाइ छ ।
यसबाहेक देशका विभिन्न स्थानमा बसोबास गर्ने मानिस समेत दसैंमा घर फर्कन्छन् ।जसबाट समेत यात्राको खर्च जोडिन्छ। दसैंको समयमा काठमाडौंसहित देशभरबाट हुने यात्राको संख्या कुल ३० लाख हाराहारी हुने र सबैको खर्च रकम कूल ६ अर्ब रुपैयाँ हुन आउँछ ।
खसीको मासुमै सकिन्छ ३३ अर्ब ६० करोड
दसैंको समयमा काठमाडौं उपत्यकामा मात्रै ५० देखि ६० हजार वटा खसी÷बोका बिक्री हुन्छ ।सरदर प्रतिखसी २० किलोग्रामको हुने पशु सेवा विभागको आँकलन छ। जिउँदो खसीको मूल्य प्रतिकिलो सरदर ७ सय रुपैयाँ रहेको छ । यसरी हेर्दा एउटा खसी वा बोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्न आउँछ।
नेपालमा प्रतिवर्ष औसतमा ४८ लाख वटा खसीबोका बिक्ने विभागको भनाइ छ। विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार त्यसमध्ये ५० प्रतिशत अर्थात करिब २४ लाख खसीबोका दसैंमा खपत हुन्छ ।जसको मूल्य सरदरमा ३३ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ ।यसमा कुखुरा, रागा, हाँस लगायत अन्य मासुजन्य जनावरको खर्च जोड्दा मासुमा हुने दसैं खर्च रकम अझै बढ्न आउँछ ।
काठमाडौं चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्का दसैंको समयमा काठमाडौं उपत्यकामा प्रतिवर्ष ६० हजार वटासम्म खसीबोका बिक्ने बताउँछन्। जसमध्ये २५ देखि ३० हजार वटा खसीबोका कलंकी खसी बजारबाट बिक्ने खड्काको भनाइ छ ।यस्तै, बागबजारको खसी बजारबाट १५ देखि २० हजार वटा बिक्ने उनको भनाइ छ। यसबाहेक, अन्य खसी बोका गाउँबाट सिधै काठमाडौंमा बस्ने उपभोक्ताले ल्याउने गर्छन् ।यो समाचार निकेश खत्रीले रातोपाटीमा लेखेका छन।