काठमाडौ /
प्रचण्ड कम्युनिस्ट छोड्न नमान्ने बाबुराम कम्युनिस्ट हुन नचाहने भएपछि “नेकपा समाजवादी केन्द्र”को नाममा मोटामोटी समझदारी बनेको प्रचण्ड निकट एक केन्द्रीय सदस्यले बताए। ‘प्रचण्ड कमरेड माओवादी पार्टीको नाम फेर्न खोजे पनि कम्युनिस्ट छाड्न नमान्ने। बाबुराम माओवादीमा ज्यान गए नजाने भएपछि ‘समाजवादी ’ भए एक ठाउँमा हुन तयार हुनुभयो’ ती नेताले भने, ‘अन्तिममा नेकपा समाजवादी केन्द्र बनाउने विषयमा दुई नेताबीच समझदारी भयो ।यद्यपि पार्टी कमिटीले अनुमोदन गरेको छैन ।’
पार्टीको नाम नेकपा समाजवादी केन्द्र बनाउँदा समस्या नहुने ती नेताको दाबी छ ।‘पार्टीको नाम माओवादी भनेको काम सांसदवादीले गर्ने गरेको छ ।कि माओवादी जस्तै विचार र संगठन हुनुपर्यो ।होइन भने पार्टीको नाम फेर्नुपर्छ भनेर बैठकमा भन्दै आएका थियौँ’ ती नेताले भने, ‘प्रचण्ड बाबुराम सहित माधव नेपाल र वामदेव गौतमलाई जोडेर समाजवादी केन्द्र बनाए पार्टीमा समस्या हुँदैन ।’ समाजवादी केन्द्र बनाएर जाने विषयमा बाबुरामसहित तत्कालीन बहुमत सचिवालय सदस्य एक मत भएकाले चुनाव अघिसम्म एकता संयोजन समिति बन्न सक्ने ती नेताको दाबी छ ।
‘समाजवादी केन्द्र पार्टी नै बनाएर तत्काल एकता हुने सम्भावना देखिँदैन ।एकता संयोजन समिति बनाएर एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जाने हुन सक्छ। त्यसका लागि डकुमेन्टसनमा काम भइरहेको छ,’ ती नेताले भने, ‘यद्यपि परिणाम देखिने गरी धेरै विषय बाहिर आएको छैन ।परिणाम चुनाव अघि नै आउन सक्छ ।’
यसले प्रचण्ड र बाबुराम फेरि एक ठाउँमा आउने सम्भावना बढ्दै गएको अर्का एक नेताले बताए ।‘बाबुराम प्रचण्ड समाजवादी केन्द्रको नाममा तत्काल एक हुने अवस्था नभए बाबुराम निकट नेता कार्यकर्ता प्राय सबै माओवादीमै फर्किने सम्भावना छ । जसले गर्दा बाबुरामले प्रचण्डसँग मात्रै भए पनि तत्काल समाजवादी केन्द्र बनाउने विषयलाई मूर्त रुप दिन हतारिएका छन्,’ ती नेताले भने, ‘त्यसपछि बिस्तारै माधव नेपाल र वामदेव गौतम नेतृत्वको समूहसँग एकता हुँदै जाने सम्भावना छ ।’
समाजवादी केन्द्र बन्नेमा बाबुराम निकट नेता गङ्गा नारायण श्रेष्ठ समेत आशावादी देखिएका छन। तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित जसपा मिलेर समाजवादी केन्द्र बनाउँदा ठुलो शक्ति बन्ने सम्भावना रहेको श्रेष्ठले बताए । समाजवादी केन्द्र निर्माणमा नेताहरू घनिभूत छलफलमा जुटेकाले चुनाव अघिसम्म आधार देखिन सक्ने बताए ।
