आज आषाढ शुक्ल एकादशी, जसलाई देवशयनी एकादशी वा हरिशयनी एकादशीका नामले चिनिन्छ। धार्मिक मान्यता अनुसार आजैका दिन भगवान् विष्णुले क्षीरसागरमा शेषनागको शय्यामा विश्राम लिन सुरु गर्नुहुन्छ। यही दिनदेखि चातुर्मास व्रतको पनि आरम्भ हुन्छ।

शास्त्रीय मान्यताअनुसार भगवान् विष्णु आजदेखि पाताल लोकको बलिदानराज बलिको द्वारमा वास गर्नुहुन्छ र चार महिनापछि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) मा पुनः वैकुण्ठ फर्कनुहुन्छ। यसबीचको चार महिना ‘चातुर्मास’ भनेर चिनिन्छ, जुन साधना, नियम र संयमको विशेष काल हो।

यस अवसरमा व्रतीहरूले निम्न मन्त्रद्वारा विष्णुको पूजन गर्दै व्रतको संकल्प गर्नुपर्दछ :
“सुप्ते त्वयि जगन्नाथे जगत् सुप्तं भवेदिदम् ।
विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत ।।”

अर्थात् – “हे भगवान् जगन्नाथ! तपाईं शयनमा जानुभएपछि सारा सृष्टि निद्रामा जान्छ, र तपाईं उठ्नुहुनेबित्तिकै सारा संसार पनि जागृत हुन्छ। कृपया, मेरो व्रत सफल पार्नुहोस्।”

चातुर्मास व्रतका नियमहरू

चातुर्मास अवधिभर व्रत गर्ने व्यक्तिले विभिन्न प्रकारका संयम, त्याग र नियमको पालना गर्नुपर्छ।

श्रावण महिनामा साग,

भाद्र महिनामा दही,

आश्विन महिनामा दूध,

कार्तिक महिनामा दुई दल भएका पदार्थ (जस्तै मास, मसूर) त्याग गर्नुपर्छ।यस अवधिमा कुभिन्डो, राजमा, रातो मूला, उखु, ज्यामिर जस्ता वस्तुहरू खान नहुने उल्लेख छ। साथै पलङ वा बेञ्चमा सुत्नु वर्जित छ, भूमिमा शयन गर्नुपर्दछ।

शास्त्रले व्रतीलाई ब्रह्मचर्य, सत्य भाषण, पवित्रता र सात्त्विक जीवनशैलीको पालना गर्न आग्रह गर्दछ।
मासु, माछा, अण्डा, मदिरा, मसूरो, भन्टा, मूला, अरूले पकाएको भोजन जस्ता तामसिक र निषिद्ध खाद्यपदार्थको सेवन गर्न निषेध गरिएको छ।

चातुर्मासको त्यागले प्राप्त हुने पुण्यफल

सख्खरको त्याग गर्नाले मिठास र त्यागी स्वभाव उत्पन्न हुन्छ।

तोरीको तेल त्याग गर्नाले सत्रुहरूमाथि विजय प्राप्त हुन्छ।

घिउको त्यागले सौन्दर्य र तेज प्राप्त हुन्छ।

पात/सुपारी त्याग गर्नाले माधुर्य र भोग प्राप्त हुन्छ।

योग अभ्यास गर्नेले ब्रह्मपद प्राप्त गर्ने शास्त्रीय मान्यता छ।नियमित व्रत, एकान्त, मौनव्रत, उपवास, भूमि शयन, पातमा भोजनजस्ता साधना अपनाउने व्यक्तिले उच्च लोक प्राप्त गर्ने बताइन्छ।

चातुर्मास केवल व्रतको विषय होइन, जीवनमा संयम, शुद्धता र आध्यात्मिक चेतनाको अभ्यास गर्ने अवसर हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x