२०७८ फागुण १, आइतबार
काठमाडौ /
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध आइतबार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।
प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनसमेत निरन्तर आन्दोलन रहँदै आएको छ ।
संविधानको धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोग प्रस्ताव ल्याउन सक्ने व्यवस्था छ ।‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको’ आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले महाभियोग प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ ।

