
काठमाडौ /
विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आईडी बनाएर अनलाइन ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१० बस्ने वर्ष २३ को रमेश थारु रहेका छन्।
उनले विभिन्न व्यक्तिहरुको नागरिकताको कपी दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई ‘डीएसएलआर’ क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राखेर ठगी गरेको प्रहरीले जनाएको छ।


क्यामेरा खरिद गर्न चाहाने ग्राहकको लागि उनले सम्पर्क नम्बर ९७४५५४१४५६ समेत ‘क्यानोन ८०’ मोडेलको क्यामराको मूल्य ७८ हजार पर्छ र ५० प्रातिशत रकम पहिला पठाउनु भनी प्रचार गर्ने गरेका थिए।
ग्राहकहरुले सामान डेलिभरी गर्नुपूर्व केही रकम आईएमई पे एप, इसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
थारुलाई महानगरीय अपराध महाशाखाको टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसँग समन्वय गरी कोहलपुरबाट पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।