काठमाडौ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ ।सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो सुन बरामद गरेको छ ।
दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।
विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटीगुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ ।सोही सुविधालाई दुरुपयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्करी गरेको आशंकापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरामद गर्न अभियान थालेको हो ।
एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जनाएको छ ।यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।
झिटिगुन्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ ।यसरी सुन ल्याउँदा ५० ग्राममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार तिर्नुपर्छ ।सो भन्दाबढी सुन ल्याए जफत हुन्छ ।
यस्तै व्यक्तिगत प्रयोजन बाहेकमा १०० ग्रामसम्मको सुन भन्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी भित्र्याए जफत हुन्छ ।विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुुविधा अन्र्तगतको भएको भन्सार विभागले जनाएको छ ।