काठमाडौ।
कोरोना भाइरस विरुद्धको खोप अनुदान र सहयोगको नाममा नेपाल आउने क्रम जारी छ ।८ माघ ०७७ देखि हालसम्म एक करोड ९९ लाख ७९ हजार तीन सय ३० डोज खोप नेपाललाई उपलब्ध भएको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार थप तीन करोड ३४ लाख ५० हजार खोप पाइपलाइनमा छ ।
सहयोगस्वरूप खोप आउने र सरकारले खोप खरिद गर्ने क्रम पनि जारी नै छ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो समय सहयोग गर्नेहरूले म्याद सकिन लागेको खोप पठाइरहेका छन् ।‘विगतमा भुटानले सहयोग गरेको खोपको म्याद तीन हप्ता पनि थिएन,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले माल्दिभ्सले दिने भनेको खोपको म्याद पनि एक महिनाभन्दा कम छ ।उनीहरूको देशमा खेर जाने भएपछि सहयोगका नाममा विकासोन्मुख देशमा पठाउने होड सुुरु भएको छ ।’
सरकारले १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।त्यस्तै, करिब ३४ लाख १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ ।स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको सूचीअनुसार पाइपलाइनमा रहेका खोपहरूमा फाइजर, मोडेर्ना, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका छन् ।
यी खोप सन् २०२२ भित्र नेपाल आइसक्ने छन् ।कतिपयको आउने मिति तय भएको छ भने केही निश्चित भए पनि मिति अझै तय भएको छैन ।