
पोर्चुगलले १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने भएको छ ।दलालहरूको चंगुलमा फसेका नेपालीलाई पोर्चुगल सरकारले डिपोर्ट गर्न लागेको हो।
पोर्चुगल सरकारले २०२५ को जनवरी ७ देखि १८ सम्मको अवधिमा १२० नेपालीलाई निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको पोर्चुगलमा रहेका नेपाली केशव बास्तोलाले जानकारी दिए। “यहाँको सरकारले उनीहरू सबैलाई जालसाजीको आरोपमा डिपोर्ट गर्ने निर्णय गरेको हो,” उनले भने।
बास्तोलका अनुसार, भिसा अवधि बढाउन र बस्ने अनुमति लिनका लागि नेपालीले पेस गरेका कागजातमा नक्कली छाप लगाएको पाइएपछि पोर्चुगलको प्रहरीले उनीहरूको कागजात जाँच गरेको थियो ।जाँचका क्रममा प्रमाणीकरणका लागि लगाइएको छाप नक्कली भएको पाइएको हो। त्यसपछि पोर्चुगलले १२० नेपालीलाई डिपोर्ट गर्ने निर्णय गरेको हो।
“जालसाजी मुद्दामा १२० नेपालीलाई ६ महिनाभित्र पोर्चुगल छोड्न र पाँच वर्षसम्म पोर्चुगल प्रवेश गर्न नपाउने गरी कारबाही सुनाइएको छ,” बास्तोलाले बताए।
नेपालीले पेस गरेका प्रहरी रिपोर्ट, जन्मदर्ताजस्ता कागजाज प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली पाइएको थियो।