हजारौँ सहिदको वलिदानीपछि
हजारौँ मजदुरको योगदानले
हजारौँ मजदुरको त्यागले
लाखौँको आमाबुवाको कोखकाँध रित्तिएपछी
लाखौँ छोराछोरी टुहुरो बनेपछि
लाखौँ किसान,
व्यापारी, नागरिकले घरबार गुमाएर स्थापित
यो गणतन्त्रमा
– हत्यारा बन्ने छुट छ
– भ्रष्ट बन्ने छुट छ
– लुटेरा, बेइमान, गुण्डा बन्ने छुट छ।
दल र जातको आडमा प्रहरी बन्ने छुट छ
-तर, चोर समाउने अधिकार छैन।
नश्ल र वर्गका आधारमा सैनिक बन्ने छुट छ
तर, सीमासुरक्षा
र, देशको पक्षमा युद्ध गर्ने छुट छैन।
न्यायालय छन्
तर, भ्रष्टाचारी, अन्यायी, अत्याचारी
कमिशनखोर,
देशद्रोहीलाई सजाय दिने अधिकार छैन ।
यो देशमा
सब नेता, सबै कार्यकर्ता छन्
– बश, नागरिक छैनन् ।
शिक्षक र कर्मचारी,
प्राध्यापक, पत्रकार,
कवि र कलाकार
डाक्टर र इन्जिनीयर
प्राज्ञ र न्यायालय
सबलाई दलका सदस्य बन्न छुट छ ।
यत्ति हो – मान्छे बन्न छुट छैन ।
दलको आदेश अनुसार
सबैले
दुई आँखा छोपेर भनिरहेछन् – सत्य नहेर
दुई कान थुनेर भनिरहेछन् – सत्य नसुन
मुख थुनेर मौन-मौन भनिरहेछन् – सत्य नबोल ।
एकदिन
लुटिएको आफ्नो लुगा खोज्न
नाङ्गै निस्कियो – सत्य ।
रामगोपाल आशुतोष
– भक्तपुर