• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    अश्रुधारा उनिएको फाइल खोल्नु छ !


    २०८० वैशाख ३०, शनिबार

    २०८० वैशाख ३०, शनिबार

    नगल्नू उतारचढावमा फोहोरी किरा बनेर
    चम्कनू चमचम जीवनमा अमूल्य हिरा बनेर
    समय शक्ति चिनेर रहनू समाजको मुटुमा
    गर्नू प्रवाह रगतको धमनी शिरा बनेर ।

    *******************************

    हटोस् ग्रीष्म सुक्खा वायु जल धरामा परोस् बरु
    पुष्प परागसेचनमा छलछल जरामा परोस् बरु
    मिच्न सक्छ नगिँडेमा ढली आफैँ धोत्रे रुख
    गिँडौँ भ्रष्ट गाँडे बहुदल खतरामा परोस् बरु।

    *********************************

    पानी चुहिने छानो फेर्न टाइल खोल्नु छ
    अश्रुधारा उनिएको फाइल खोल्नु छ
    राता सेता धमिराले सक्लान् ढुकुटी
    फर्कौँ स्वदेश कसौँ मोर्चा मिसाइल खोल्नु छ।

    ********************************

    उम्लिँदा बढ्यो आयतन धुलोमा पोखिएँ कतै
    घट्यो कि त भन्दै वजन तुलोमा जोखिएँ कतै
    बिटुलिएर छि: छि: दुरदुर हुँदै भागेका बेला
    कालो कोटमा गन्दा छनछन चुलोमा चोखिएँ कतै।

    भरत सिग्देल
    नुवाकोट

    सम्बन्धित