• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    बल्ल खाइस् भन्नेहरू कति छन् कति !


    २०७९ माघ ३, मंगलबार

    २०७९ माघ ३, मंगलबार

    १)

    खाडल मात्र खन्नेहरू कति छन् कति छन्
    औलाभाँची गन्नेहरू कति छन् कति छन्
    अल्झिए मात्र यी खुट्टा सफरमा एकछिन
    बल्ल खाइस् भन्नेहरू कति छन् कति छन्।

    २)

    बुद्धि लगाएँ भए जति बुझ्नै सकिन
    आफ्नै भयो बरु खती बुझ्नै सकिन
    न भोक लाग्छ न निद्रा उनलाई नहेरी
    साँच्चै के रहेछ पिरती बुझ्नै सकिन

    ३)

    आफैलाई हराई दियो आफ्नै पिरतीले
    निद्रा भोक खाई दियो आफ्नै पिरतीले
    एकछिन उसलाई नदेख्दा छट्पटिन्छ मन
    साँच्चै पागल बनाई दियो आफ्नै पिरतीले

    ४)

    नापको गरेर अड्कल किनिदिए पुग्छ
    गर्नै पर्दैन छलफल किनिदिए पुग्छ
    तपाईं कै नाम जप्नेछ भगवान सम्झेर
    गरिबलाई मात्र चप्पल किनिदिए पुग्छ

    ५)

    आउला नसोची बाधा सापटी दिए पुग्छ
    एकछिन् भइन्छ आहा! सापटी दिए पुग्छ
    दुश्मन खोज्न टाढा जानै पर्दैन आमा
    आफन्तलाई पैसा सापटी दिए पुग्छ।

    रोमा लम्साल “नुरा”
    हाल काठमाडौं

    सम्बन्धित