• कार्तिक १४, २०८३ शनिबार
    31 Oct, 2026, Saturday

    भोट केमा ??


    २०७९ श्रावण २१, शनिबार

    २०७९ श्रावण २१, शनिबार

    खाडी पुगेका दाजुलाई सम्झिन्छु
    साडी नपाएकी भाउजुलाई सम्झिन्छु
    बिमानस्थलको लामो लाईन सम्झिन्छु
    हाथमा सर्टिफिकेट बोकेर भौंतारिएको भाईलाई सम्झिन्छु।

    बेलामा मल र भाउ नपाएका किसानलाई हेर्छु
    ठेलामा फलफूल र स्याउ बेच्ने दिदिलाई हेर्छु
    मेलामा निर्धक्क हिड्न नसकेकी बहिनिलाई हेर्छु।

    अनि फेरि,

    न्याय नपाएका गाउँलेलाई देख्छु
    बेचिन लागेकी चेलिलाई भेट्छु
    ईट्टा बोकेका श्रमिक
    बालुवा चालेका मजदुर
    गिट्टी कुटेका वृद्धलाई हेर्छु।

    ट्रकमा भरिएर चामल आएको हेर्छु
    बसमा भरिएर युवा गएको हेर्छु
    ट्याङ्करमा भरिएर पानी ल्याएको हेर्छु
    नदि बेचेर कमिसन लिएको हेर्छु।

    ०४६ को आन्दोलन सम्झिन्छु
    मुटु कमाउने जनयुद्धलाई सम्झिन्छु
    ०६२/०६३ को जन-आन्दोलन सम्झिन्छु
    खै परिवर्तन ?
    खै सु-शासन ?
    खै लोकतन्त्र ?
    खै गणतन्त्र ?

    सिमा बेचिएको हेर्छु
    एमबिसी सक्रिय भएको हेर्छु
    दलिय भागबन्डा हेर्छु
    कुर्सी तानातान हेर्छु।

    अनि सुस्केरा हाल्दै
    आफुले आफैलाई अनुत्तरित प्रश्न गर्छु …
    कस्लाई भोट दिएर के हुने रहेछ र ?

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ नुवाकोट

     

    सम्बन्धित