• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    छुटेको कुरा !


    २०७९ असार २४, शुक्रबार

    २०७९ असार २४, शुक्रबार

    एक दशक अघिको कुनै बिहान !!

    खाँदा खाँदैको आधा गाँस छाडेर
    आधा निदमा उठेर
    फुल्दै गरेको आधा जवानी छाडेर
    हिडेको थें परदेश ।

    अङ्गालो भरिकी श्रीमती छाडेर
    आँखाको नानी जस्तो काखको छोरा छाडेर
    रुँदै गरेकी बुढी आमालाई छाडेर
    कलिलो सपना बोकी
    एक मिर्मिरे बिहान
    छाडेको थें घर
    हिँडेको थें परदेश ।

    लहलह झुलेको बाली छाडेर
    चीअर्स भन्दै गिलास जुधाउने साथी छाडेर
    हिड्ने गोरेटो – बाटाहरु छाडेर
    अंगालो मार्ने शितल बतास छाडेर
    स्पर्श गर्ने दिउँसोको पारिलो घाम छलेर
    भिसा लागेको पासपोर्ट बोकी
    भालेको पहिलो डाँकमै हिँडेको थिएँ काठमाडौं
    र, काठमाडौबाट जहाजले
    उडाएथ्यो मलाई
    खाडीको अमुक ठेगानामा

    परदेश आउँदा सोंच्थें- मैले केबल आफ्नो गाउँ छाडें
    देश नामको एउटा भुगोल मात्र छाडें
    तर,
    मसङगै मेरो आत्मबिस्वासले पनि देश छाडेको रैछ,
    अचेल जिन्दगीको यो कुईनेटोमा
    गुमाएको छु –
    आफुले छाडेर आएको छितिजतिर फर्केर
    ढुक्कले आफुलाई वीर नेपाली भन्ने आत्मबिस्वास !!

    पहाडबाट मुस्कुराउँदै झर्ने बिहान छाडेर
    मलाई हर साँझ कुरिरहने आँगन छाडेर
    मेरा उदासी अनुहार घरको भित्तामा टाँगेर
    ठेस लाग्दा लाग्दा आफ्नै लाग्न थालेका बाटाका ढुङ्गाहरु छाडेर,
    लागेको थें परदेश

    परदेश आएपछि सोंचेको थें-
    मैले मेरो माटोको गन्धलाई मात्र छाडेको हुँ
    बाबू सन्चै छौ भनी सोध्ने प्रियजनलाई मात्र छाडेको हुँ
    गाउँ माथिको नाङ्गो आकाश मात्र छाडेक‍ो हुँ
    आफू हुर्केको आगन मात्र छाडेको हुँ
    तर परदेश आएपछि छुटेछन् थुप्रै थुप्रै कुरा !!

    छुटाउनै नहुने थुप्रै कुरा छुटेछन् !!

    जस्तो कि –
    तिर्खाउँदा हत्केलाले पानी उगाउने ईनार छुटेछन्
    आफ्नै बिम्ब नदीमा हेर्न म उभिने किनार छुटेछन्
    केही समयका प्रतिबिम्ब छुटेछन्
    र, केही बिर्सनै नहुने याद छुटेछन् ।

    म परदेश लागेपछि
    गाउँका हितैशी छुटेछन्
    आफ्नोभन्दा मेरो चिन्ता गर्ने बैरी छुटेछन्
    दोबाटोमै थुप्रै पाइला छुटेछन्
    मलाई चिनाउने मेरा परिचय छुटेछन्
    मलाई गाउँ पुर्‍याउने ठेगाना छुटेछन्
    हुलाकमै केही थान पत्रमित्र छुटेछन्
    प्रियसीका आखामा सपना छुटेछन्
    छुटेछन् सप्पै सप्पै कुरा ।

    म परदेश लगेपछि
    सबैभन्दा धेरै त ..
    मेरो आफ्नै एक बैँस जिन्दगानी छुटेछ
    र, म गाउँ फर्केको छु
    रित्तो थोत्रो डोको जस्तो
    आफैलाई भारी लाग्ने अत्यासलाग्दो बुढ्यौली लिएर !!

    अजित उत्सव

    पोखरा

    हाल युएई 

    सम्बन्धित