• कार्तिक १२, २०८३ बिहिबार
    29 Oct, 2026, Thursday

    मान्छे भेटिनै गार्हो छ यहाँ !


    २०७९ असार २३, बिहिबार

    २०७९ असार २३, बिहिबार

    पाईलापालामा भेटिन्छन् नेताहरु
    गौंडागौंडामा भेटिन्छन् यहाँ कार्यकर्ताहरु
    अनि तिनै कार्यकर्ताको लहलहैमा
    बहकिन्छन लाखौंलाख जनताहरु
    मान्छे भेटिनै गार्हो छ यहाँ ।

    भेटिन्छन प्रसस्तै धर्मप्रचारक
    पास्टर ,लामा र पण्डितहरु
    भेटिन्छन यत्रतत्र
    संघ, संस्था र सहकारी संचालकहरु
    अहँ,
    मान्छे भेटिनै गार्हो छ यहाँ ।

    गर्भमै दल तोकिन्छ यहाँ
    सरकारी अफिसमै दलको सदस्यता खोजिन्छ यहाँ
    मन्दिरको उद्घाटन गर्न नेताको पाऊ मोलिदैछ अरे
    जता हेर्छु देख्छु
    संसदिय चाकडिबाजका पात्रहरु मात्रै देख्छु
    अँह,
    मान्छे भेट्नै गार्हो छ यहाँ ।

    शिक्षा ,श्रम र श्रमिक माथी
    संघ, संघठनको आगो झोसेर
    मान्छे सबै एक हौं भन्दै
    जातियताको प्रमाणपत्र खोजेर
    भगवानको दर्शन गर्न
    जातियताको लाइसेन्स खोजियो अरे
    अँह ,
    मान्छे भेट्नै गार्हो छ यहाँ ।

    मानवसेवाको नाममा मानव तस्करहरु सल्बलाए
    गरिखाने भन्दा ठगिखानेहरु बढ्दै गए
    साच्चै
    सडकमा ढलेको लाशमा समेत मोलमोलाइ चल्दैछ
    देखिदैन कहिँकतै मानवता
    अँह,
    मान्छे भेट्नै गार्हो छ यहाँ ।
    मान्छे भेट्नै गार्हो छ यहाँ ।

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ -५ सामरी, नुवाकोट

    सम्बन्धित