पाईलापालामा भेटिन्छन् नेताहरु
गौंडागौंडामा भेटिन्छन् यहाँ कार्यकर्ताहरु
अनि तिनै कार्यकर्ताको लहलहैमा
बहकिन्छन लाखौंलाख जनताहरु
मान्छे भेटिनै गार्हो छ यहाँ ।
भेटिन्छन प्रसस्तै धर्मप्रचारक
पास्टर ,लामा र पण्डितहरु
भेटिन्छन यत्रतत्र
संघ, संस्था र सहकारी संचालकहरु
अहँ,
मान्छे भेटिनै गार्हो छ यहाँ ।


गर्भमै दल तोकिन्छ यहाँ
सरकारी अफिसमै दलको सदस्यता खोजिन्छ यहाँ
मन्दिरको उद्घाटन गर्न नेताको पाऊ मोलिदैछ अरे
जता हेर्छु देख्छु
संसदिय चाकडिबाजका पात्रहरु मात्रै देख्छु
अँह,
मान्छे भेट्नै गार्हो छ यहाँ ।
शिक्षा ,श्रम र श्रमिक माथी
संघ, संघठनको आगो झोसेर
मान्छे सबै एक हौं भन्दै
जातियताको प्रमाणपत्र खोजेर
भगवानको दर्शन गर्न
जातियताको लाइसेन्स खोजियो अरे
अँह ,
मान्छे भेट्नै गार्हो छ यहाँ ।
मानवसेवाको नाममा मानव तस्करहरु सल्बलाए
गरिखाने भन्दा ठगिखानेहरु बढ्दै गए
साच्चै
सडकमा ढलेको लाशमा समेत मोलमोलाइ चल्दैछ
देखिदैन कहिँकतै मानवता
अँह,
मान्छे भेट्नै गार्हो छ यहाँ ।
मान्छे भेट्नै गार्हो छ यहाँ ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ -५ सामरी, नुवाकोट
