नयाँ पाठ्यपुस्तकमा क्रिश्चियन धर्मको प्रचार गरिएको भन्दै विवाद

ताजा समाचार

नुवाकोट /
सरकारले छपाइ गरेको विद्यालयको पाठ्यपुस्तक धर्म प्रचारमा प्रयोग भएको भन्दै विवादमा परेको छ ।पाठ्यपुस्तकमा क्रिस्चियन धर्मलाई बढी प्राथमिकता दिएर सरकारले अक्षर तथा तस्बिर प्रकाशन गरी वितरण गरेसँगै विवादित बनेको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरेको पुस्तकमा ई अक्षरको परिचय गराउने क्रममा ईसा भनेर राखिएको छ ।त्यससँगै इसा भनेर क्रिस्चियन धर्म र संस्कृति झल्कने तस्बिर राखिएको छ ।

अघिल्ला वर्षका पाठ्यपुस्तकहरूमा ईबाट ईश्वर भनेर राखिने गरेको थियो । योपटक भने क्रिस्चियन धर्म झल्किने गरी अक्षर संकेत राखेपछि विवाद सिर्जना भएको हो ।सडक, सदनदेखि सामाजिक सञ्जालमा पाठ्यपुस्तकको विषयमा विवाद भइरहेको छ ।

एमाले सांसद भिम रावलले संसद् बैठकमा नै पाठ्यपुस्तकबारे विरोध जनाए । ‘मैले पाठ्यक्रममा हेरें। मैले एउटा पत्रिकामा पढें ।अचम्म लाग्यो ।त्यहाँ एउटा पाठ्यपुस्तकमा के लेखेको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्नुहुन्छ,’ उनले भने, ‘धर्म निरपेक्ष भनेको होइन देश ? मैले त बाल्यकालमा ई भनेको ईश्वर पढेको थिएँ ।ल कसैलाई ईश्वर भन्न मन भएन, ई माने इमान किन लेख्नुभएन ?’

सामाजिक सञ्जालमा पनि यस विषयमा अहिले व्यापक आलोचना भएको पाइएको छ ।सरकारले छपाइ गरेको पाठ्यपुस्तकको अंग्रेजी विषयमा पनि क्रिस्चियन धर्मको प्रचार हुनेगरी सामग्री राखिएको पाइएको छ। अंग्रेजी पाठ्यपुस्तकमा ब्लेस भनेर क्रिस्चियन धर्म र संस्कृति जनाउने तस्बिर राखिएको छ भने मास भनेर पनि क्रिस्चियन धर्म र संस्कृति झल्कने तस्बिर राखिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *