दाङ/
जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ तुलसीपुर बजारमा माटोको ईटलाई सुन भनेर बेच्न खोज्नेहरु पक्राउ परेका छन।उनिहरुलाई एकान्त होटलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ५ खांग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा गाउँपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यान कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका छन्।
उनीहरुले उक्त होटलमा सर्वसाधारणलाई अवैध रुपमा सुन बिक्री गर्न लागेको सूचना पाएपछि प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी पुग्दा उनीहरुको झोलामा इट्टा फेला परेको दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए।
सुरुमा उनीहरुले सानो टुक्रा नमुनाको रुपमा देखाउने र पछि इट्टा बेचेर ठग्ने तयारी गरेको प्रहरीकाे निष्कर्ष छ।
उनीहरु बसेको होटलको १०३ नं कोठामा खानतलासी गर्दा प्रहरीले जेब्रा झोलामा माटोको २ वटा इट्टा फेला पारेको थियो।
उनहरुले नमुना देखाउने र पछि झुक्याएर इट्टा दिएर रकम लिएर भाग्ने तयारी गरेको प्रहरीको निस्कर्ष छ। उनीहरुको साथबाट नमुनाका रुपमा देखाएको सुन जस्तै ५२ ग्रामको पहेंलो धातु पनि प्रहरीले बरामद गरेको छ।