मलाइ माफ गर
मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन

मलाइ थाहा छ प्रेम त भमरा झै स्वार्थी छ
त्यसैले बडो प्रेमले हुर्काएका ति बचेराहरुले
त्यो बुढो रुखलाइ एक्लो छाडेर
बेग हान्दै हान्दै उडान भरेको देखे देखि नै
हो मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

काक्रो झै चिरिएका जमिनको टुक्रासंग
एउटै थालिमा खाएका दाजु भाइको
मन पनि त्यहि जमिनसंगै चिरा चिरा भएर
जन्ती र मलामीको सम्वन्ध नै
अन्त्य भएको देखे देखिनै हो
मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

पहाड फुटेर रसाएका
ति चिसा मुलका पानीले
हजारौ हजार माइलको यात्रा तय गर्दै
समुन्द्र अनि महासागरमा मिसिएपछि
आफ्नै ति पहाडको शिरलाइ भेट्ने बाटो
नभेटेको देखे देखिनै हो
मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

आमाको मैलो चोली र बाबाको पुरानो कोट
मझेरिमा वेवारिसे बनाइ छाडि हिडे पछि
सिमलिको हागाको टेक्ने लठ्ठी भाचिएर
कमजोर ति आँखाहरुले देख्न छाड्दा
फुटेका ति काचका शिशाहरुले हातमा बनाएका
ति घाउबाट वगिरहेका रगतहरु देखेपछि नै हो
मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

जुन दिन देखि सुने
त्यो जिर्ण घर भित्रबाट कसैको आवाज
आखिर के नै गरिस र तैले ?

त्यो जीर्ण घरबाट जवाफ आउदै थियो
घाम पानी अनि आधि तुफानसंग जोगाउदै
त्यहि आगनीको माटोमा बामेसर्न अनि हिड्न सिकाए
उस्का पाउहरु छुटेर त्यो जिर्णघर भत्केको देखे देखिनै हो
बस मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

एकोहोरो त्यो शंखको ध्वनीले
जव संकेत गरेको सुने म्रृत्यृको
त्यस पछि सजाएर आफ्नै चितालाइ त्यो मसानघाटमा
म मस्तसंग निदाउन थाले देखि नै हो
मैले म बाहेक अरु कसैसंग प्रेम गर्नै सकिन।

रुपा थापा
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय