• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    विद्यालयमा परिवारवाद: अध्यक्ष ,प्रअ, शिक्षक-शिक्षिका र कार्यालय सहयोगी एकै परिवारका


    २०७९ जेठ ३०, सोमबार

    २०७९ जेठ ३०, सोमबार

    गौर/
    गौर नगरपालिका–४ स्थित टिकुलिया गाउँको पूर्वपट्टि खेतमा जस्ताले छाएको विद्यालय भवन छ ।जीर्ण भवनको पछाडिपट्टि ८ र अगाडि ४ वटा झ्यालमा फलामको एंगल लगाइएको छ । तर, पल्ला छैन ।सबै खुल्ला छन् ,अगाडि चारवटा जीर्ण ढोका छन् ।

    कक्षाकोठा हेर्दा जोकोहीलाई विद्यालय हो भन्ने लाग्दैन ।विद्यालयमा बुबा व्यवस्थापन समिति अध्यक्ष, छोरा कार्यालय सहायक, बुहारी प्रधानाध्यापक, नातिनी राहत शिक्षिका, अर्का बुहारी बाल शिक्षिका भएर सञ्चालन गर्दै आएका छन् ।

    ०६३ सालमा स्थापना भएको विद्यालय भनेर बोर्ड झुन्ड्याइएको छ ।कक्षा ६ सम्म पढाइ हुने प्राथमिक विद्यालय टिकुलियामा अहिले ४ देखि १२ जनासम्म विद्यार्थी आउँछन् ।कक्षा १ मा ६ जनामात्र भर्ना छन् ।कक्षा २ मा चार, ३ मा १२, ४ मा १३, ५ मा १२ र कक्षा ६ मा ३ जना विद्यार्थी भर्ना छन् ।बाल विकास कक्षामा ४ जना छन् ।

    १५ वर्षदेखि सञ्चालित विद्यालयको भौतिक अवस्था दयनीय छ ।गौरका शिक्षा शाखा प्रमुख विनयलाल दासले नाम मात्रको विद्यालयलाई स्पष्टीकरण सोधिएको बताए ।‘एउटै परिवारका सदस्य मिलेर विद्यालय चलाउँदै आएका रहेछन् । अख्तियारले समेत छानबिनका लागि पत्र पठाएको छ,’ उनले भने, ‘हामी आन्तरिक अनुसन्धानमा लागेका छौं ।चाँडै नै यथार्थ बाहिर आउँछ ।’

    दासका अनुसार व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापक उनकी बुहारी सावित्री, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव छन् ।अशोक प्रधानाध्यापक सावित्रीका श्रीमान् हुन् ।यादवको राजनीतिक पहुँचका कारण स्थानीयले खुलेर विरोध गर्न नसकेको स्थानीय ओमकुमार साहले बताए। ‘विद्यालयको हालत बिजोग छ । बालबालिका पढ्ने कक्षाकोठा खत्तम छ,’ उनले भने, ‘नाममात्रका यस्ता विद्यालय अन्यत्र मर्ज गर्नुपर्छ ।यसले सिंगो नगरपालिकाकै बेइज्जत गरेको छ ।’

    सदरमुकाममै नाममात्रको विद्यालय सञ्चालनमा रहेको जानकारी पाएपछि केही दिनअघि गौरका प्रमुख शम्भु साहसहितको टोली टिकुलिया पुगेको थियो ।विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्मका २४ जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइरहेको पाइएको थियो ।विद्यालयमा कोही शिक्षक थिएनन्। कार्यालय सहयोगी अशोकमात्रै थिए। उनी विद्यार्थीको बीचमा बसेका थिए ।

    कार्यालय सहयोगी अशोकले कहिलेकाहीं पढाउने गरेको विद्यार्थीले गुनासो पोखे । ‘एकै परिवारका सदस्यले सञ्चालन गरेको विद्यालयको अवस्था दुःखलाग्दो रहेछ। नाममात्रको विद्यालय बन्द गर्ने प्रक्रियामा लागेको छु,’ नगर प्रमुख साहले भने, ‘विद्यालयमा अहिलेसम्म के–कति बजेट आयो ।दिवाखाजामा कति रकम गयो भन्ने शिक्षा शाखालाई यथार्थ विवरण लिन भनेको छु।’ नगरले प्रधानाध्यापक सावित्रीसित स्पष्टीकरण सोधे पनि अहिलेसम्म जवाफ दिएकी छैनन् ।कान्तिपुरबाट साभार गरिएको ।

    मिल्दो जुल्दो खबर